बालविवाह र सामाजिक कुरितिविरुद्ध बर्दियाको गेरुवामा एलम्नाई ग्रुप गठन

संजय आचार्य । गुलरिया
बर्दियाको गेरुवा गाउँपालिकामा बालबालिका तथा युवाको संरक्षण र सशक्तिकरणसँगै सामाजिक कुरितिविरुद्ध अभियान सञ्चालन गर्ने उद्देश्यले अदिति थारूको अध्यक्षतामा २५ सदस्यीय गेरुवा गाउँपालिका स्तरीय एलम्नाई ग्रुप गठन गरिएको छ।
गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा तथा सेफ फ्युचर प्रोजेक्ट अन्तर्गत आयोजित अभिमुखीकरण कार्यक्रममा युवा क्लब, किशोरी समूह र बाल क्लबका पूर्वसदस्यहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा बालबालिका तथा युवाको संरक्षण, गुणस्तरीय शिक्षा, बालविवाह न्यूनीकरण, लागूऔषध दुरुपयोग नियन्त्रण, मानव बेचबिखन तथा लैङ्गिक हिंसा रोकथाम लगायतका विषयमा छलफल तथा अभिमुखीकरण गरिएको बाँके युनेस्को क्लबका परियोजना संयोजक गोविन्दप्रसाद लामिछाने जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागी युवाहरूलाई समुदायमा देखिएका सामाजिक विकृति र हानिकारक अभ्यासविरुद्ध सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गरिएको लामिछानेले बताउनु भयो ।
नवगठित एलम्नाई सदस्यहरूले विगतमा हासिल गरेका अनुभव, ज्ञान र नेतृत्व क्षमतालाई समुदायको हितमा उपयोग गर्नुपर्नेमा गेरुवा गाउँपालिका उपाध्यक्ष लक्ष्मी चौधरीले जोड दिनुभयो। उहाँले बालविवाह, लैङ्गिक हिंसा, लागुऔषध दुरुपयोग तथा अन्य सामाजिक विकृतिविरुद्ध युवाहरूले समुदाय स्तरबाट अभियान सञ्चालन गर्नुपर्ने बताउनु भयोे । उपाध्यक्ष चौधरीले यस्ता अभियान तथा गतिविधिमा गाउँपालिकाले आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी शाखा अधिकृत रमा पुन मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एलम्नाई ग्रुपलाई शाखा अन्तर्गतको सक्रिय संरचनाका रूपमा अघि बढाउने बताइएको छ। अध्यक्ष मगरले समूहका सदस्यहरूको क्षमता विकास तथा संस्थागत सहयोगलाई निरन्तरता दिइने जानकारी दिइन्।उनले स्थानीय तहको स्वामित्वमा बाल संरक्षण, शिक्षा तथा युवाको सहभागिता अभिवृद्धि गर्न एलम्नाई ग्रुप गठनले महत्वपूर्ण आधार तयार गरेको बताउनु भयो।
कार्यक्रमको सहजीकरण बाँके युनेस्को क्लबका परियोजना संयोजक गोविन्दप्रसाद लामिछाने र राधाकृष्ण थारू जनसेवा केन्द्रका परियोजना संयोजक मनोज पौडेलले गर्नु भएको थियो ।
गेरुवा गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा सम्पन्न उक्त कार्यक्रम प्लान इन्टरनेसनल नेपालको सहयोग तथा बाँके युनेस्को क्लब र राद्याकृष्ण थारू जनसेवा केन्द्रको साझेदारी र प्राविधिक सहयोगमा सञ्चालन गरिएको हो।