राम्रो अस्पताल भन्दा स्वस्थ नागरिक बनाउन जुटौं : स्वास्थ्य मन्त्री पुन

संजय आचार्य । गुलरिया
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दीपेन्द्रकुमार पुनले नागरिकलाई राम्रो उपचार गर्ने भन्दा स्वस्थ नागरिक बनाउने अभियानमा जुट्नुपर्ने बताउनु भएको छ ।
स्वास्थ्य कार्यालय बर्दियाले मंगलबार गुलरियामा आयोजना गरेको आर्थिक वर्ष २०८२/०८३ को जिल्ला स्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रमको समापन समारोहमा बोल्दै मन्त्री पुनले स्वास्थ्य सेवा अस्पताल र उपचारमा मात्र सीमित हुन नहुने भन्दै रोग लाग्नै नदिने वातावरण निर्माणका लागि जनचेतना विस्तारमा जोड दिनुभयो।
“उपचारभन्दा पहिले स्वास्थ्यसम्बन्धी ज्ञान दिएर अस्पताल जानै नपर्ने स्थिति सिर्जना गर्नुपर्छ,” मन्त्री पुनले भन्नुभयो, “विद्यालय शिक्षामा स्वास्थ्य चेतना जोड्न सकिए विद्यार्थीले आफ्नै अभिभावकको जीवनशैली सुधारमा ठूलो भूमिका खेल्न सक्छन्।”
स्वास्थ्य, शिक्षा र कृषि क्षेत्र एक–अर्काका परिपूरक रहेको उल्लेख गर्दै मन्त्री पुनले अस्वस्थ खानपान र आधुनिक जीवनशैलीका कारण विभिन्न स्वास्थ्य समस्या बढ्दै गएको बताउनुभयो। त्यसैले उपचारात्मक सेवासँगै स्वास्थ्य प्रवर्द्धन र रोग रोकथामका कार्यक्रमलाई पनि प्राथमिकता दिनुपर्ने वहाको भनाइ थियो।
संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वयको अवस्था कमजोर रहेकोतर्फ संकेत गर्दै मन्त्री पुनले तीनै तह एउटै लक्ष्यका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभयो। “एउटा तहले स्क्रिनिङ गर्ने तर अर्को तहसँग औषधि खरिद गर्ने बजेट हुनेजस्ता व्यावहारिक र नीतिगत समस्याले गर्दा जनताले सहज रूपमा स्वास्थ्य सेवा पाउन सकेका छैनन्,” उहाँले भन्नुभयो। स्वास्थ्य सेवाको माग उच्च भए पनि राज्यका स्रोतसाधन सीमित रहेकाले प्राथमिकताका आधारमा स्वास्थ्य कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनु भएको हो ।

दुईदिने कार्यक्रममा बर्दिया जिल्लाभित्र सञ्चालित विभिन्न स्वास्थ्य कार्यक्रम तथा सेवाहरूको समीक्षा गर्नुका साथै आगामी आर्थिक वर्षका लागि प्रभावकारी योजना तर्जुमा गर्ने विषयमा छलफल गरिएको थियो। जिल्लाको स्वास्थ्य क्षेत्रको वर्तमान अवस्था, हासिल भएका उपलब्धि, देखिएका चुनौती तथा भावी रणनीतिका विषयमा सरोकारवालाबीच गहन छलफल भएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख उमेश गौतमले जानकारी दिनुभयो।
कार्यक्रममा जिल्लाका आठवटै स्थानीय तहका स्वास्थ्य प्रमुखहरूले वर्षभरि सम्पादन गरेका स्वास्थ्यसम्बन्धी गतिविधि, उपलब्धि तथा चुनौतीका बारेमा जानकारी प्रस्तुत गरेका थिए। स्वास्थ्य कार्यालय प्रमुख गौतमले आर्थिक वर्ष २०८२/०८३ मा कार्यालयबाट सम्पादन भएका स्वास्थ्य कार्यक्रमहरूको प्रगति तथा उपलब्धिबारे जानकारी गराउनुभएको थियो।
कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सूर्य विष्टले गर्नुभएको थियो । कार्यक्रममा वरिष्ठ अधिकृत पदम श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने जनस्वास्थ्य अधिकृत राजु कुमार खड्काले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।