मिथ्या सूचनाले पार्ने प्रभावबारे बाँकेका विद्यार्थी र शिक्षकको चिन्ता
नेपालगन्ज : बाँकेका विद्यार्थी र शिक्षकले मिथ्या सूचना समाजका लागि हानिकारक हुने भन्दै चिन्ता व्यक्त गरेका छन् । काठमाडौँको पूरक एशियाले आइतबार नेपालगन्जमा आयोजना गरेको मिथ्या सूचनाको पहिचान र यसको प्रभावका विषयमा आयोजना गरेको कार्यक्रममा विद्यार्थीले चिन्ता व्यक्त गरेका हुन् ।
कार्यक्रममा स्प्रिङ डेल एकेडेमीका विद्यार्थीले मिथ्या सूचनाबाट राजनीतिक दलबीच द्वन्द्व सिर्जना हुने बताएका थिए । उनीहरुले भनेका थिए, ‘गलत सूचना फैलाएर राजनीतिक अस्थिरता बढ्छ । निर्वाचनमा मतदाताको निर्णयमा असर पर्छ ।’
ब्राइटल्याड कलेजका विद्यार्थीले मिथ्या सूचनाले मानसिक तनाव, चरित्र हत्या, असुरक्षा र त्रासको अवस्था सिर्जना हुने बताएका थिए ।
होप इन्टरनेशनल एकेडेमीका विद्यार्थीले भने जनविश्वासमा कमि आउने, जनस्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने, सामाजिक प्रतिष्ठामा हानी पुग्ने, समाज विखण्डित हुने, राजनीतिक ध्रुविकरण हुनसक्ने र विश्वव्यापी नकारात्मक प्रभाव पर्ने बताएका थिए ।
युनाइटेड पब्लिक स्कुलका विद्यार्थीले समाजमा विभिन्न समुदायबीच अन्तर द्वन्द्व निम्त्याउने, समाजको एकता खल्बलिने, युवाहरुलाई मानसिक असर पर्ने गरेको र मिथ्या सूचनाकै कारण समाजमा अपराधिक घटनामा बृद्धि भएको भन्दै चिन्ता व्यक्त गरे ।
कार्यक्रममा बरिष्ठ पत्रकार तथा अनुसन्धानकर्ता तिलक पाठकले मिथ्या सूचना प्रकार, पहिचान र प्रतिकार विषयमा सहजीकरण गर्नु भएको थियो । उहाँले मिथ्या सूचना मिस इन्फरमेसन, डिसइन्फर्मेसन, माल इन्फरमेसन र हेट स्पिचको रुपमा वर्गीकरण गर्दै आफ्नो अध्ययनमा धेरै जसो मिथ्या सूचना सामाजिक सञ्जालबाट बढी फैलिने गरेको जानकारी गराउनु भएको थियो । उहाँले सूचना मिथ्या नहुन तथ्य, तथ्याङ्क, घटना, घटनाक्रम, स्रोत, व्यक्ति, अभिव्यक्ति, तस्बिर र समय सन्दन्र्भिक हुनुपर्ने बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘कुनै पनि सूचना देख्ने बित्तिकै तत्कालै लाइक, शेयर नगरेर एकछिन रोकेर सोच्दा पनि मिथ्या सूचनाबाट जोगिन सकिन्छ ।’
कार्यक्रममा बाँकेका आधा दर्जन विद्यालय र क्याम्पसका विद्यार्थी र शिक्षक गरी २५ जनाको सहभागिता रहेको थियो ।









