१०औं राष्ट्रिय खेलकुद : पौडीमा बने २ राष्ट्रिय कीर्तिमान, नौ पदकसहित बागमति प्रदेशको अग्रता
नेपालगन्ज : १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबारदेखि नेपालगन्जमा सुरु भएको २३औं राष्ट्रिय पौडी च्याम्पियनसीप २ वटा राष्ट्रिय कीर्तिमान बनेको छ ।
नेपालगन्ज रंगशाला परिसरको पौडी पोखरीमा भएको पुरुषतर्फको ५० मिटर ब्रेस्टस्ट्रोकमा कोशी प्रदेशका विकास कुमालले आफ्नै रेकर्डमा सुधार गर्दै ३०.६४ सेकेन्डको नयाँ कीर्तिमान बनाउनु भएको छ । यसअघि उहाँकोे सन् २०२६ मा भएको ११औं एनएसए कप पौडी प्रतियोगितामा ३०.६६ सेकेन्डको कीर्तिमान रहेको थियो।
महिलातर्फको ४०० मिटर (आइएम) एनआरएनए लीली बोहराले ५ मिनेट १७.०१ सेकेण्डको नयाँ कीर्तिमान बनाउनु भएको छ ।
यसअघि भारतको गुहाटीमा सन् २०१६ मा भएको ११औं सागमा सोफिया शाहले ५ मिनेट ४८.५४ सेकेन्डको कीर्तिमान बनाउनु भएको थियो । सोफियाको कीर्तिमान १०औं राष्ट्रिय खेलकुदको हिट चरणमा नै लीली र नेपाल आर्मी क्लबकी डुआना लामाले भंग गर्नु भएको थियो तर लीलीको नाममा भने ५ मिनेट १७.०१ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनेको छ । हिट चरणमा लीलीले ५ मिनेट २१.५२ सेकेन्डमा पूरा गर्दै राष्ट्रिय कीर्तिमान तोड्न सफल हुनु भएको छ भने डुआनाले पनि राष्ट्रिय कीर्तिमानलाई पछि पार्दै ५ मिनेट २५.१७ सेकेन्डमा पूरा गर्नुभयो ।
प्रतियोगिताको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा रहेको छ ।
मंगलबारसम्मको नतिजाअनुसार बागमतीले चार स्वर्ण, दुई रजत र तीन काँस्य गरी नौ पदक जितेको छ । तीन स्वर्ण र एक काँस्यसहित चार पदक जितेको गैरआवासीय नेपाली संघ (एनआरएनए) दोस्रो स्थानमा छ ।
नेपाल आर्मी क्लबले दुई स्वर्ण, पाँच रजत र एक काँस्य गरी आठ पदक जित्दै तेस्रो स्थानमा रहँदा नेपाल पुलिस क्लबले एक स्वर्ण, दुई रजत र छ काँस्यसहित नौ पदक जितेको छ । स्वर्ण पदकका आधारमा पुलिस चौथो स्थानमा छ ।
त्यस्तै, कोशी प्रदेशले एक स्वर्ण पदक जित्दा सुदूरपश्चिम प्रदेशले दुई रजत पदक हात पारेको छ । मंसिर ८ देखि ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको मंगलबार दिउँसो उद्घाटन नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्टले गर्नु भएको थियो । नेपाल पौडी संघका केन्द्रिय अध्यक्ष जगतमान श्रेष्ठको अध्यक्षतामा उद्घाटन समारोह सम्पन्न भएको थियो ।










