लुम्बिनी प्रदेशमा वनमा ढलेका काठ कटान गरिँदै

लुम्बिनी प्रदेश सरकारका वन मन्त्री सुरेन्द्रबहादुर हमाल भन्छन्, 'वनका सढेंगलेका काठ छिट्टै कटानमुछानको ब्यवस्थापन गर्ने व्यवस्था गरिनेछ'

नेपालगन्ज : लुम्बिनी प्रदेश सरकारले लामो समयदेखि कटान मुछान नभएको वनको ढले पडेका काठलाई कटान र मुछानको व्यवस्था गर्न लागेको छ ।
प्रेस युनियन बाँकेले शनिबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्रबहादुर हमालले जंगलभित्र सढें गलेका काठको ब्यवस्थापन नहुँदा राज्यले ठूलो नोक्सानी बेहोर्नु परेकाले व्यवस्थापन गर्न लागेको बताए ।
उनले भने, ‘प्रदेशका १२ वटै जिल्लामा काठ जुन रुपमा यत्रतत्र छरिएका छन्, त्यो काठहरु ब्यवस्थापन गर्न जति हामीले ढिला गर्छौ, त्यति राज्यको लागि नोक्सान हुन्छ, त्यसले राज्यलाई फाइदा गर्दैन ।’ काठको ब्यवस्थापन नहुँदा त्यसै कुहिएर जाने र त्यसबाट राज्यले आर्थिक रुपमा ठुलो नोक्सानी बेहोर्नुपर्ने हुँदा चाडो ब्यवस्थापन गर्नका लागि मन्त्रालयले प्रक्रिया अगाडी बढाउने मन्त्री हमालले बताए । काठको ब्यवस्थापन गर्न आफुले १२ वटै जिल्लाबाट यसको तथ्यांक संकलन गर्न निर्देशन दिइसकेको उनको भनाइ छ । नेपालगन्ज–कोहलपुर, तुलसीपुर–घोराही र भैरहवा–बुटवलको सडक खण्डको बीच भागलाई हरियाली क्षेत्र बनाउने विषयमा आफूले छलफल र समन्वय गरिरहेको जानकारी दिए ।
कार्यक्रममा बाँकेका पत्रकारले मन्त्री हमालमार्फत प्रदेश सरकारलाई सुझाव दिएका थिए । नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारीले प्रदेश सरकारले मिडियाका नाममा विनियोजन गरेको रकम प्रदेशका १२ वटै जिल्लाका पत्रकार र मिढियालाई समानुपातिक रुपमा वितरण गर्नुपर्नेमा जोड दिएका थिए । उनले आफू निकटका मिडिया हाउस र पत्रकारलाई मात्र मोटो रकम वितरण गरेको भन्दै आपत्ति जनाएका थिए ।