राप्तीसोनारी-७ पनि बालविवाह मुक्त घोषणा

नेपालगन्ज : बाँकेको राप्तीसोनारी गाउँपालिकाको वडा नं. ७ पनि बालविवाह मुक्त वडा घोषणा भएको छ ।
गाउँपालिकाका उपाध्यक्ष धनीकुमारी खत्रीको उपस्थितिमा राप्तीसोनारी–७ का वडा अध्यक्ष रामलखन थारुले वडालाई बालविवाह मुक्त घोषणा गरेका हुन् । राप्तीसोनारीमा यसअघि वडा नं. ३ पनि बालविवाह मुक्त घोषणा भइसकेको छ । योसँगै बाँके जिल्लामा २० वटा वडा बालविवाह मुक्त घोषणा भएका छन् । जिल्लामै जानकी गाउँपालिका बालविवाह मुक्त घोषणा भएको पहिलो स्थानीय तह हो ।
जिल्लामा बालविवाह मुक्त वडा घोषणा गर्नका लागि प्लान इन्टरनेशनल नेपालको सहयोगमा स्याक नेपाल बाँकेले सहयोग गरेको छ । स्याकले जिल्लाका ८ वटै स्थानीय तहमा बालविवाह रोकथाम परियोजना सञ्चालन गरेको छ । जिल्ला समन्वय समिति बाँकेले आगामी फागुन मसान्तभित्र बालविवाह मुक्त पालिका घोषणा गरेमा १० हजार रुपैयाँ पुरस्कार घोषणा गरेको छ ।