हेलिकोप्टर दुर्घटनामा भारतको चिफ अफ डिफेन्स स्टाफ विपीन रावतसहित १३ जनाको मृत्यु

नयाँ दिल्लीः भारतको चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपीन रावतको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । रावतसहित उनकी श्रीमती मधुलिका रावतको पनि निधन भएको भारतीय रक्षामन्त्री राजनाथ सिंहले जानकारी दिएका छन् ।
उनले ट्वीट गर्दै हेलिकोप्टर दुर्घटनामा विपीन रावत, उनकी श्रीमती र अन्य ११ जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।
रावत सवार हेलिकोप्टर आज तमिलनाडुको कुन्नुरमा दुर्घटना भएको थियो । भारतीय वायु सेनाको एमआइ–१७भी ५ को डबल इन्जिन रहेको हेलिकोप्टर दुर्घटना भएको थियो । यसबारे सरकारले आधिकारी धारणा सार्वजनिक गरेको छैन ।
सरकारले रावतलाई १ जनवरी २०२० मा पहिलो चिफ अफ डिफेन्स स्टाफमा नियुक्त गरेको थियो। वायु सेनाले दुर्घटनाको अनुसन्धान गर्न नर्देशन दिएको छ ।
को हुन् विपिन रावत ?
दर्शनशास्त्रमा विद्यावारिधि गरेका विपिन रावत नेपाली सेनाका मानार्थ महारथी हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको स्थाल सेनाध्यक्ष हुँदा विसं २०७३ चैत १६ गते नेपाली सेनाको मानार्थ सेनाध्यक्षको दर्ज्यानी दिएकी थिइन् ।


प्रधानमन्त्री नरेन्द्र मोदीले रावतलाई भारतको चिफ अफ डिफेन्स स्टाफ (सी डीएस) बनाएका थिए । उनले भारतीय सेनालगायत अन्य सुरक्षा फौजको नेतृत्व गर्दै आएका थिए ।
भारतको उत्तराखण्डस्थित गढवाल जिल्लाको पाउरीमा जन्मिएका रावत भारतको ६ औं स्थल सेनाध्यक्ष भएका थिए ।
लेफ्टिनेन्ट जनरल लक्षुसिंह रावतका छोरा विपीन आफ्ना पिताले सेवा गरेको ११ गोर्खा राइफलको पाँचौं बटालियनमा सन् १९७८ को १६ डिसेम्बरमा सैन्य सेवामा प्रवेश गरेका थिए ।
रावतले देहरादुन, सिमलाको भारतीय सैन्य एकेडेमीमा अध्ययन गरेका थिए। चिनियाँ जनमुक्ति सेनासँग लडेका र अमेरिकामा पढेका रावत सैन्य सञ्चार रणनीतिका विज्ञ हुन्। रावतले अमेरिकामा उच्च शिक्षा हासिल गरेका थिए ।
सैन्य सञ्चार रणनीतिको अनुन्धानमा चौधरी चरणसिंह विश्वविद्यालय मेरुतबाट दर्शनमा विद्यावारिधि रावतले कंगोमा शान्ति स्थापना गर्न, चीनसँगको लडाइँ, भारतको मणिपुरमा क्रियासिल पृथकतावादीसँगको लडाइँमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।
आफ्नो सैन्य जीवनमा रावतले थुप्रै पुरस्कार पनि प्राप्त गरेका छन् । उच्च हिमाली क्षेत्रको लडाइँ लड्न सिपालु थिए । भारतीय स्थल सेनाध्यक्ष दलवीर सिंहले अवकास पाएपछि रावतले भारतीय स्थल सेनाध्यक्षको जिम्मेवारी पाएका थिए ।
सन् २०१६ को जनवरी १ देखि दक्षिण कमान्डको प्रमुख भएर काम गरेका रावत सन् २०१६ को सेप्टेम्बर १ देखि उपप्रधानसेनापतिको हैसियतमा काम गर्दै आएका थिए। एन्टी विशिष्ट सेवा, युद्ध सेवा, सेना र विशिष्ट सेवा मेडल प्राप्त गरेका रावतले सन् १९८६ मा सुम्डुरोगं चु उपत्यकामा तत्कालीन महासेनानीको हैसियतमा चिनियाँ जनमुक्ति सेनाविरुद्ध लडाइँ लडेका थिए ।(अन्नपुर्ण पोष्ट डटकमवाट)