भिडियो कल सुविधाका लागि बाल सुधार गृहमा सञ्चार सामग्री सहयोग

नेपालगन्ज : एडभोकेसी फोरम नेपालले बाँकेको बाल सुधार गृहका बालकहरुको लागि ल्यापटप, स्पीकर र प्रोजेक्टर लगायतका सञ्चार सामग्री सहयोग गरेको छ ।
बाँके जिल्ला अदालतका न्यायाधीश खडानन्द तिवारी, प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, जिल्ला बार एसोसिएसनका अध्यक्ष जनकबहादुर शाहीको उपस्थितिमा बाल सुधार गृहका इन्चार्ज विमला काउचा मगरलाई सामग्री हस्तान्तरण गरिएको एड्भोकेसी फोरमका प्रदेश संयोजक बसन्त गौतमले जानकारी दिए ।
बाल सुधार गृहमा रहेका बालकहरुले भिडियो संवादमार्फत कानून ब्यवसायीसँग मुद्दाको बारेमा परामर्श गर्न र घरमा रहेका आफन्तसँग भिडियो कुराकानी गर्न सहज होस् भन्ने उद्देश्यले सञ्चार सामग्री उपलब्ध गराइएको संयोजक गौतमले प्रष्ट पारे । फोरमले यस अघि पनि लत्ताकपडा, खानेपानीको फिल्टर, खेलकुद सामाग्री, कम्युटर, इन्टरनेट लगायतमा सहयोग गर्दै आएको छ ।