कोरोना संक्रमित भेटिएसँगै नेपालगन्जमा कडा सुरक्षा निगरानी

संक्रमित व्यक्ति बस्ने क्षेत्र मा गरियो सिल

नेपालगन्ज : बाँकेमा पहिलो पटक कोरोना संक्रमण भएका व्यक्ति भेटिएसँगै नेपालगन्जमा सुरक्षा निगरानी बढाइएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार कोरोना पोजेटिभ देखिएका व्यक्ति बस्ने नेपालगन्जको महेन्द्र पार्क, एक्लैनी क्षेत्रलाई सिल गरिएको छ भने धम्बोजीमा सुरक्षा सर्तकता बढाइएको छ । संक्रमित व्यक्ति डिएसपी रोडमा रहेको घरबाट महेन्द्र पार्क नजिकैको मस्जिदमा दैनिक अजान दिन जाने आउने गर्थे । उनी धेरै व्यक्तिको सम्पर्कमा आएको हुनसक्ने भन्दै सो क्षेत्र सिल गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । त्यस्तै धम्बोजीका एक अर्का ब्यक्तिमा पनि कोरोनाको आशंका गरिएपछि सो क्षेत्रमा सुरक्षा निगरानी बढाइएको सहायक प्रजिअ उपाध्यायले प्रष्ट पारे । भारतको सीमा क्षेत्र बहराइचबाट करिब एक महिनाअघि नेपाल फर्किएका संक्रमित ब्यक्तिको परिवारका सदस्यहरु र सम्पर्कमा आएका छिमेकीहरुको पनि कोरोना जाँच गरिने भएको छ ।