नेपालगन्जको नीति तथा कार्यक्रम : शिक्षा, स्वास्थ्य, पुर्वाधार विकास प्राथमिकतामा

१ अर्ब ६३ करोड ६५ लाख बढी बजेट विनियोजन

नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।
बिहिबार भेरी प्राविधिक शिक्षालयको हलमा भएको ११ औ नगरसभामा उप प्रमुख कमरुद्धिन राईले आर्थिक बर्ष २०७९/०८० का लागि १ अर्ब ६३ करोड ६५ लाख ७२ हजार रुपैयाँ अनुमानित बजेट पेश गरे । नगर प्रमुख प्रशान्त बिष्टले नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, पुर्वाधार विकास जस्ता कुराहरु प्राथमिकतामा परेको भन्दै आफुहरुले चुनावको बेला गरेको बाचालाइ बजेटमा समेटीएको दावी गरे ।
नीति तथा कार्यक्रममा नेपालगन्जलाई शैक्षिक हवका रुपमा विकास गर्न नगर प्रमुख शैक्षिक सुधार कार्यक्रम बनाई प्राथमिकताका साथ अगाडि बढाइने उल्लेख गरिएको छ । बालवालिकाका लागि स्मार्ट एजुकेशन कार्यक्रम शुरुवात गरिने, शिक्षा विकास कोष स्थापना गरी उक्त कोषमा नगर र वडाबाट समेत बजेट विनियोजन गरी सञ्चालनमा ल्याईने, छात्रा भर्ना प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने कुरा नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै मातृभाषामा पठनपाठनका लागि आवश्यक पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गरिने, बालबालिकाहरुको स्वास्थ्यलाई ध्यान दिई एक मा.वि. एक नर्स कार्यक्रम लागु गरिने, शिक्षामा सवैको पहुँच सुनिश्चित गदैे गुणस्तरीय शिक्षाका लागि विद्यालयको पूर्वाधार विकास, आधारभूत तहको शिक्षालाई अनिवार्य तथा निशुल्क गर्ने र मावि. तहको शिक्षालाई निशुल्क गर्दै लगिने र महेन्द्र बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउन आवश्यक समन्वय र पहल गरिने लगायत विभिन्न कार्यक्रमहरु समेटीएका छन ।

स्वास्थ्य तर्फ बिशेषज्ञ चिकित्सक,जनस्वास्थ्यकर्मी सहित प्रत्येक वडाहरुमा घुम्ती स्वास्थ्य सेवा प्रदान गरिने, स्वास्थ्य क्षेत्रको अल्पकालिन र दिर्घकालिन कार्य योजना बनाई कार्यान्वयन गरिने, आगामी २ बर्षभित्र १५ सैयाको आधारभुत अस्पताल संचालनमा ल्याईने, आगामी दुई वर्षभित्र क्षयरोग मुक्त उप–महानगरपालिका घोषणा गरिने, नेपालगञ्ज उपमहानगरपालिका वडा न.४ स्थित शहरी स्वास्थ्य प्रवद्धन केन्द्रलाई केन्द्रिय मापदण्ड अनुसार सञ्चालन गरिने कुरा नीति तथा कार्यक्रममा उल्लेख छ ।
त्यसैगरी नेपालगञ्ज उपमहानगरपालिकालाई योगमैत्री नगरको रुपमा रुपान्तरण गरिने, नेपालगंज शहरलाई मेडिकल हवको रुपमा विकसित गर्न नगरमा सञ्चालन रहेका अस्पताल तथा अन्य स्वास्थ्यसंस्थाहरुलाई व्यवस्थित गर्दै लगिने, स्वास्थ्य संस्थाको संगठनात्मक सुधार र जनशक्ती एवं भौतिक साधनको आवस्यकता बारे अध्ययन प्रतिवेदन लिने र सोको आधारमा जनशक्तीको वृद्धि अवलम्बन गर्ने नीति लिईएको छ ।

आफ्नै भवन नभएका ७ वटा वडा कार्यालयका भवन निर्माण कार्यलाई निरन्तरता दिईने, अब्यवस्थित बसोबासलाई ब्यवस्थित गर्न रिङ्गरोडको बिकास गरिने, उपमहानगरपालिकालाई स्तरोन्नती गरी महानगरपालिका बन्ने सम्भावनालाई द्वष्टिगत गरी सो को लागी उपर्युक्त स्थानमा आवश्यक पर्ने जग्गाको ब्यवस्थापन गर्ने र संरचना निर्माणको लागी बिस्तृत परियोजना प्रतिबेदन तयार गर्ने कार्यलाई अगाडी बढाईने भएको छ ।
वडाको सिफारिसमा प्रत्येक वडामा एक÷एक वटा मेगा प्रोजेक्ट छनौट गरी कार्यान्वयनको लागी पहल गरिने, नेपालगन्जमा रात्रीकालिन बजार व्यवस्थापन गर्न आवश्यक पूर्वाधारको निर्माणका लागी पहल गरिने, राझा विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थल बनाउन आवस्यक पहल गरिने, उपमेयर संग ट्राफिक व्यवस्थापन कार्यक्रम संचालन गरिने नीति तथा कार्यक्रममा घोषणा गरिएको छ ।