पर्यटन व्यवसायीसँग सहकार्य गर्दै प्रदेश सरकारले पर्यटन क्षेत्रको विकास गर्छ : मन्त्री चौैधरी

नेपालगन्ज : लुम्बिनी प्रदेशका पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले पर्यटन व्यवसायीसँग सहकार्य गर्दै लुम्बिनी प्रदेशको पर्यटन क्षेत्रको विकास गर्ने बताएका छन् ।

पर्यटन विकास परिषद् बुटवल र नाट्टा बाँके च्याप्टरले सोमबार नेपालगन्जमा आयोजना गरेको लुम्बिनी प्रदेशमा दीगो पर्यटन विकासका सम्भावनाहरु विषयक एक दिने गोष्ठीमा मन्त्री चौधरीले प्रदेश सरकारले पर्यटन क्षेत्रका लागि आवश्यक पर्ने सम्पूर्ण कानुनहरु पर्यटन व्यवसायीको माग र चाहना अनुसार बनाउने र पर्यटकीय क्षेत्रको प्रबद्र्धन गर्न सहकार्य गर्ने बताए । उनले भने, ‘पर्यटकीय क्षेत्रमा लगानी निजी क्षेत्रले नै गर्ने हो । प्रदेश सरकारले लगानी गर्ने होइन । सरकारले कानुन बनाएर र प्रबद्र्धन गरेर सहजीकरण गर्ने हो ।’ नेचर, कल्चर र धर्म तीन वटा क्षेत्रबाट नै पर्यटकीय क्षेत्र बन्ने भएकाले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर नयाँ पर्यटकीय क्षेत्रको पहिचान, भएका पर्यटकीय क्षेत्रको विकास र प्रबद्र्धन गर्न तयार रहेको बताए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीले पश्चिम नेपालमा थुप्रै पर्यटकीय सम्भावना भएको बताए । उनले देशका पर्यटकीय क्षेत्रको विकासका लागि विद्युत प्राधिकरण जस्तो कानुुन बनाउने, कार्यान्वयन गर्नसक्ने निजी क्षेत्रले नेतृत्व गरेको पर्यटन प्राधिकरणको आवश्यकता रहेको बताए । उनले भने, ‘नेपालमा जे जति पर्यटकीय क्षेत्रको विकास भएको छ, त्यो सबै निजी क्षेत्रको पहलमा मात्र भएको छ । राज्यका नीति र कानुन पर्यटन व्यवसायको प्रबद्र्धन मैत्री बनाउनुपर्छ ।’
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्ट, पूर्वनगर प्रमुख डा.धवल शम्शेर राणा, कोहलपुर नगरपालिका प्रमुख पूर्ण आचार्य, राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेल, पर्यटन विकास परिषद बुटवलका कार्यकारी निर्देशक रामु जोशी, नाटाका निर्वतमान केन्द्रिय अध्यक्ष अच्युत गुरागाई, नाटा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देल, पर्यटनविद् द्वय शिवराज जोशी र रामजी पाठक, सिद्धार्थ बिजनेश ग्रुपका क्षेत्रीय प्रबन्धक केशव न्यौपाने, बुद्ध एयरका नेपालगन्ज इन्चार्ज विनित शाह, होटल व्यवसायी संघ लुम्बिनी प्रदेश अध्यक्ष भास्कर काफ्ले, नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओली, होमेस्टे महासंघका महासचिव कृष्ण चौधरी, लुम्बिनी नाट्टाका अध्यक्ष रचना पन्थी, सुदूरपश्चिम नाट्टाका अध्यक्ष पदम विक्रम सिंह लगायतले पर्यटकीय क्षेत्रको विकासका लागि सरकारलाई सुझाव दिएका थिए ।