मन्त्री राईद्वारा नेपालगन्जको ब्लड बैंक भवनका लागि ३ करोड विनियोजन

नेपालगन्ज : भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले सञ्चालन गरेको क्षेत्रीय रक्तसञ्चार केन्द्रको अत्याधुनिक भवन निर्माण गर्न तीन करोड रुपैयाँ विनियोजन गरेका छन् ।
मन्त्रालयको सहयोगमा भेरी अस्पताल परिसरमा रहेको रेडक्रसको क्षेत्रीय रक्तसञ्चार केन्द्र रहेकै स्थानमा लिफ्ट सहितको ५ तले भवन बन्नेछ । रेडक्रस सोसाइटीको ६०औं स्थापना दिवसको अवसरमा आइतबार ब्लड बैंक परिसरमा आयोजित कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले मन्त्रालयले बजेट विनियोजन गरेको खुलासा गरेका हुन् । कार्यक्रममा मन्त्री राईले भनेका थिए, ‘यो रकम मन्त्रालयको काम गर्ने हरेक ठेकेदारले प्रति ठेक्का बापत ०.०१ प्रतिशत रकम सामाजिक उत्तरदायित्वका लागि खर्च गर्न छुट्टाएका हुन्छन् । ब्लड बैंकको भवन जीर्ण रहेको थाहा पाएपछि हामीले सहयोग गरेका हौं ।’ नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका लेखा अधिकृत झविलाल शर्माका अनुसार तीन करोड रुपैयाँबाट ५ लाख रुपैयाँ डीपीआर निर्माणमा खर्च हुने र बाँकी २ करोड ९५ लाख रुपैयाँमा भवन निर्माण हुनेछ ।