महेन्द्र पुस्तकालयमा बलराम यादवको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति निर्वाचित

नेपालगन्ज : महेन्द्र पुस्तकालय नेपालगन्जले तदर्थ समितिका अध्यक्ष बलराम यादवको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
पुस्तकालयको मंगलबारदेखि सुरु भएको १७औं साधारणसभा तथा अधिवेशनले अध्यक्ष यादवसहित ५ जना पदाधिकारी र २ महिला सदस्य निर्विरोध निर्वाचित गरेको थियो भने ४ जना खुला सदस्यका लागि निर्वाचन भएको थियो । समिति पहिलो पटक पदाधिकारी सबै निर्वाचित भएका हुुन् । यसअघि अध्यक्षले नै पदाधिकारी मनोनयन गर्ने व्यवस्था थियो ।
निर्वाचन समितिका सदस्य पूूर्णलाल चुकेका अनुसार कार्य समितिको उपाध्यक्ष पंकजकुमार श्रेष्ठ, सचिव मणिदेव अर्याल, सहसचिव धनमाया लुइँटेल (ऋचा लुइँटेल) र कोषाध्यक्षमा अजय कुमार टण्डन, महिला सदस्यद्वय मीना ढकाल र अस्मिता महतरालाई निर्विरोध निर्वाचित गरेको थियो । ४ जना खुला सदस्यको लागि भएको मतदानबाट बिज्रेश बहादुर सिंह, सुनिल भण्डारी, जमिल अहमद सिद्दिकी र वीरेन्द्रप्रसाद जैसी निर्वाचित भएका थिए । खुला सदस्यमा अन्तिम समयमा ९ जनाको उम्मेदवारी परेको थियो । निर्वाचन समिति सदस्य चुकेका अनुसार कूल मत २१२ रहेकोमा १४७ मत खसेको थियो । जसमध्ये ४ मत बदर भएको थियो । लामो समयदेखि पदाधिकारी निर्वाचित नहुँदा पुस्तकालय अस्तव्यस्त बनेको थियो ।