बबई र राप्ती नदीले खतरा तह पार ग-यो

नेपालगन्ज : बिहीबारदेखि परेको अविरल वर्षाका कारण बबई र राप्ती नदीले खतरा तह पार गरेको छ भने कर्णाली नदी चेतावनी तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाका अनुसार बबई चेपाङ जल मापन केन्द्रमा अहिले विहान १० बजे खतरा तह पार गरेर ७।०६ मिटर जलसतह पुगेको छ भने बाँकेको पश्चिम राप्ती कुसुम जल मापन केन्द्रमा जल सतहले खतरा तह पार गरी ६.२८ मिटर पुगेको छ । बबईको खतरा तह ६.१० मिटर हो भने राप्तीको ५.४ मिटर हो । पानीको सतह बढदै गएपछि स्थानीय प्रशासनले राप्ती नदी तटीय क्षेत्र नरैनापुर गाउँपालिकाको वडा न ५ भगवानपुर, मटेहिया, नेवाजी गाउँ, र वडा न ६ सोनवर्षा, कुदरबेटवा, गंगापुर, भोजपुरका साथै तल्लो तटीय क्षेत्रमा उच्च सर्तकता अपनाउन अनुरोध गरेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बबई नदीमा बाढीले खतराको विन्दु पार गरेसँगै बर्दिया जिल्लामा पर्ने तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । बबई तटीय क्षेत्र अन्तगर्त दाङ र बर्दियाको डुवान भइरहने होचा स्थानमा हुनेहरू दिउँसो १ बजेसम्म सतर्क रहन विभागले अनुरोध गरेको छ ।