मुक्त कमैयाको समस्या समाधान गर्न पुलको काम गर्छु : सांसद नमूना

कोहलपुर : लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमूना’ले मुक्त कमैयाका समस्या समाधान गर्न पुलको काम गर्ने बताएकी छन् ।
मुक्त कमैया समाज बाँकेले सोमबार बाँकेको ढकेरीमा आयोजना गरेको कार्यक्रममा सांसद नमूनाले मुक्त कमैयाहरुको समस्याबारे आफू जानकार रहेको बताउँदै समस्या समाधानको लागि प्रदेश सरकार र संसदमा पुलको काम गर्ने प्रतिबद्धता जनाएकी हुन् ।
‘तपाईहरुको उठाउनुभएका समस्यालाई म लुम्बिनी प्रदेशसभा र सरकारमा राख्नेछु’ उनले भनिन्, ‘तत्काल हल गर्नुपर्ने समस्या समाधानको लागि म तपाईहरुसँगै सहकार्य गरेर लाग्नेछु । सरकारका तर्फबाट मुक्त कमैयाका समस्या सम्बोधन गर्नको लागि म पुलको काम गर्नेछु ।’
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य दुर्गाप्रसाद चौधरीले समेत मुक्त कमैयाका समस्या समाधान गर्न पहल गर्ने बताएका थिए । मुक्त कमैया समाज बाँकेका अध्यक्ष जोखन थारुले दुबै प्रदेश सांसदलाई आफ्ना समस्याहरु अवगत गराएका थिए ।