बैंकमा भींड किन भयो, प्रबन्धकहरु भन्छन्…
नेपालगन्ज : लकडाउनकै बेला आइतबार नेपालगन्जका सरकारी र निजी बैंकमा सेवाग्राहीको भींड लाग्यो ।
सुर्खेत रोडमा रहेको राष्ट्रिय वाणिज्य बैंकमा भींडबारे बैंकका प्रदेश ५ प्रमुख आनन्द सुवेदीले तीन दिनको निषेधाज्ञापछि बैंक खुलेपछि पेन्सनरहरुको घुँइचो लागेको बताए । उनका अनुसार धम्बोझी शाखाबाट आइतबार दुई सय ५५ जनाले सेवा लिएका थिए । उनले भने, ‘पेन्सन ढिलो हालेकाले पनि भींड लागेको हुनसक्छ ।’
उनले कोरोना संक्रमण फैलिने खतरा रहेकाले बैंकको त्रिभुवन चोकस्थित शाखाबाट वडा नं. ८ को सामाजिक सुरक्षा भत्ता वितरण गर्ने योजना केही दिनका लागि स्थगित गरेको सुवेदी बताउँछन् ।
आइतबार सबैभन्दा धेरै भींड थियो, धम्बोझी चोकमा रहेको सांग्रीला डेभलपमेन्ट बैंंकमा । जहाँ सामाजिक सुरक्षा भत्ता लिनेको ताँती थियो । बैंकका शाखा प्रबन्धक जीवन विसी कम्तीमा पनि पाँच सय जना एकै पटक सामाजिक सुरक्षा भत्ता लिन आएको बताउँछन् । तर, .त्योभन्दा पनि ठूलो संख्यामा सर्वसाधारणले बैंक बाहिर भींड थियो । दुई सय जनाले त बैंकबाट सेवा नै लिए । विसी भन्छन्, ‘नेपालगन्जको वडा नं. २ र १२ का एक हजार जनाले बैंकबाट सामाजिक सुरक्षा भत्ता लिने गरेका छन् । वडाहरुले सबैलाई एकै पटक पठाएकाले समस्या भयो’, प्रबन्धक विसीले भने, ‘भित्र सेवा लिन आउनेहरुलाई त हामीले साबुन पानीले हात धुन लगाएर सेनिटाइजर प्रयोग गरेका थियौं । बाहिरको भींड व्यवस्थापन गर्न सकेनौं ।’
नेपालगन्जको एसबीआइ बैंकमा पनि सेवाग्राहीको भींड उत्तिकै थियो । बैंक प्रबन्धक प्रविण भट्टराई पनि तीन दिनको निषेधाज्ञापछि बैंक खुलेपछि भींड भए पनि क्रमशः सामान्य हुने दाबी गर्छन् । यो बैंकबाट एक सय २५ जनाले सेवा लिएका थिए । सेवा लिनेभन्दा धेरै बैंक बाहिर थिए ।
नेपालगन्जमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बैंकले सेवा दिने गरेका छन् । सेवाग्राहीको भींडका कारण बैंकले अबेरसम्म सेवा दिएका थिए । सांग्रीला बैंकका प्रबन्धक विसीले ५ बजे मात्र बैंकको काम सकिएको बताए । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी शिवबहादुर सिंहले बिहान ११ बजेदेखि ३ बजेसम्म किनमेल गर्ने समय दिए पनि विभिन्न बाहानामा सर्वसाधारण घर बाहिर निस्केर आफै जोखिममा परेको बताउँछन् ।
उनी भन्छन्, ‘लकडाउन हाम्रै सुरक्षाका लागि हो भन्ने चेतना नआएसम्म प्रहरीले मात्र भींड नियन्त्रण गर्न सक्दैन । नागरिक आफै सचेत भएर लकडाउनको पालना गरेमा कोरोनाबाट आफू पनि जोगिने र अरुलाई पनि जोगाउन सकिन्छ ।’