बर्दियाको पहिलो संक्रमितसँगै राजापुर क्वारेन्टाइनमा बसेका ३५ जनाकै कोरोना परीक्षण गरिने

राजापुर (बर्दिया) : बर्दियाको राजापुर नगरपालिका ५ मा भेटिएकी पहिलो संक्रमित बालिकासँगै क्वारेन्टाइनमा बसेका सबैको कोरोना परीक्षण गरिने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोेकल पर्सन नरेशबावु श्रेष्ठका अनुसार राजापुरको खल्ला जयपुरस्थित किसान माविको क्वारेन्टाइनमा संक्रमित बालिकासँगै बसेका ३५ जना सबैको कोरोना परीक्षण गरिने भएको छ । क्वारेन्टाइनमा खाना पकाउने र सहयोगीसमेतको कोरोना परीक्षण गर्नुपर्ने भन्दै त्रासमा भएका छन् ।
दुई साता क्वारेन्टाइनमा बसेकी बालिका पनि हजुरआमासँगै सोमबार घर फर्कने योजना रहे पनि पीसीआर प्रविधिबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकाले रोकिएको राजापुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख गणेश अर्यालले बताए । उनी हजुरआमाको माइतीघर घर कैलाली धनगढी उपमहानगरपालिकाको मझगाउँमा एक महिना बसेर आएकी थिइन् । त्यहाँबाट भजनीस्थित फुपुको घरमा पनि दुई दिन बसेकी थिइन् । स्वास्थ्य शाखा प्रमुख अर्यालले संक्रमित बालिकालाई बाँकेको खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेसनमा राख्ने तयारी भइरहेको बताए ।