पत्रकारलाई स्वास्थ्य प्रबर्द्धनका समाचार लेख्न आग्रह

नेपालगन्ज : स्वास्थ्य प्रबर्द्धनका समाचारलाई प्राथमिकता दिन एक कार्यक्रमका वक्ताले जोड दिएका छन् ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय भालुवाङ दाङले बिहीबार नेपालगन्जमा सञ्चारकर्मी र स्वास्थ्यकर्मीका लागि आयोजना गरेको स्वास्थ्य प्रबर्द्धन सेवा सम्बन्धी पैरवी कार्यक्रमका वक्ताले यस्तो बताएका हुन् ।
कार्यक्रममा निर्देशनालयका स्वास्थ्य शिक्षा अधिकृत भरतबहादुर कुँवरले सर्ने भन्दा नसर्ने रोगको समस्या धेरै हुने भएकाले सञ्चारकर्मीलाई स्वास्थ्य प्रबर्द्धनात्मक समाचार संकलन, लेखन र सम्प्रेषण गर्न आग्रह गरे । उनले शारीरिक, मानसिक, भावनात्मक तथा सामाजिक रूपमा स्वस्थ भए मात्र मानिस स्वस्थ हुने बताउँदै स्वास्थ्य प्रबर्द्धनका लागि सञ्चार माध्यमले पैरवी गर्ने बेला आएको बताए ।
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, नगरको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, जनस्वास्थ्य अधिकृत जागेश्वर बस्नेत, उपमहानगरद्वारा सञ्चालित स्वास्थ्य प्रबर्द्धन केन्द्रका प्रमुख डा. शंकर केसी लगायतले विश्वभर नसर्ने रोगबाट ७० प्रतिशत व्यक्ति प्रभावित हुने भएकाले स्वास्थ्य सेवा अन्तर्गत उपचार र चेकजाँचसँगै स्वास्थ्य प्रबर्द्धनात्मक काम गर्नुपर्नेमा जोड दिएका थिए ।
नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. ४ मा पहिलो पटक एक जना एमबीबीएस डाक्टर र ल्याब टेक्निसियनसहित स्वास्थ्य प्रबर्द्धन केन्द्र स्थापना गरिएकोे छ । केन्द्रका लागि उपमहानगरपालिकाले ऐन, नियमावली, कार्यविधि र निर्देशिका निमार्ण गरिरहेको छ ।