८ र ९ वैशाखमा नेपालगन्जमा फोटो प्रदर्शनी

file photo

नेपालगन्ज : अन्तरालले नेपालगन्ज ग्यालेरीको सहकार्यमा आगामी वैशाखको पहिलो साता नेपालगन्जमा फोटोे प्रदर्शनी गर्ने भएको छ ।
नेपालगन्ज फोटो फेस्टिवल अन्तर्गत आयोजित फोटो प्रतिस्पर्धामा पठाइएका फोटोहरुको छनोट कार्य अन्तिम चरणमा पुगेको छ ।
‘केही दिनमा उत्कृष्ट फोटोहरु घोषणा गछौं’, निर्णायक समितिका संयोजक विकास कार्कीले भने,‘नेपालगन्ज फोटो फेस्टिवलमा यसपटक धेरै उत्कृष्ट फोटोहरु आएका छन ।’
लुम्बिनी, कर्णाली र सुदुरपश्चिमका फोटो मात्रै प्रतिस्पर्धामा लिने गरेको नेपालगन्ज फोटो फेस्टिवलले यस वर्ष देशैभरबाट फोटो आह्वान गरेको थियो । देशभरका १५१ उत्कृष्ट फोटोहरुको प्रदर्शनी भने आगामी वैशाख ८ र ९ गते नेपालगन्जमा हुने भएको छ । यस अघि चैत २१ र २२ गते प्रर्दशनी गर्ने भनिएकोमा एसइई परीक्षाका कारण वैशाखमा सारिएको हो ।
यसैगरी बाँके जिल्लाका ८ वटै पालिकाका धार्मिक पर्यटकीय स्थल, भेषभुषा, कला संस्कृति, मौलिक परिकार, जीवनशैली झल्किने ‘१ से १ तस्विरमा बाँके’ फोटो प्रदर्शनीका लागि आएका फोटोहरुको पनि छनोेट भइरहेको छ । यसमा १ सय १ फोटो छनोट गरेर प्रदर्शनीमा राखिनेछ । प्रदर्शनीका लागि युवा पुस्ताहरुले व्यापक सहभागिता जनाएको ग्यालरीका संस्थापक समीरमान श्रेष्ठले बताए ।
फेस्टिवलकै अवसर पारेर गरिने ‘उहिलेको नेपाल’ फोटो प्रदर्शनीमा वर्षौ अघि खिचिएका फोटोहरु समावेश हुनेछन् । सुनील उलकले संकलन गरेको र किरणमान चित्रकारले उपलब्ध गराएका फोटोहरु प्रदर्शनीमा राखिनेछ ।
यसैगरी सोही अवसरमा नेपाल फोटोग्राफी समिट आयोजना हुनेछ । जसमा सबै पुस्ताका नेपाली फोटो पत्रकारहरु र हरेक विधाका फोटोग्राफरहरु सहभागी हुनेछन् । देशैभरीबाट १०१ जनाको सहभागिता रहनेछ । फेस्टिवलकै अवसरमा ३ दिने फोटो पत्रकारिता तालिम आयोजना हुनेछ । जसमा ५० जना सहभागी हुने आयोजकले जनाएको छ ।