प्याकुरेल परिवारका १० जेष्ठ सदस्यलाई सम्मान

गौघाट (बाँके) : प्याकुरेल परिवारका १० जना जेष्ठ सदस्यलाई सम्मान गरिएको छ ।
कौडिण्य गोत्रिय प्याकुरेल परिवारले पितृहरुको उद्दारको उद्देश्य राखेर बाँकेको खजुरा गाउँपालिका–२ गौघाटमा आयोजना गरिएको श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको शनिबार समापनको अवसरमा ७० वर्षभन्दा माथिका जेष्ठ सदस्यलाई सम्मान गरिएको हो ।

बाँकेको नेपालगन्जकी धनमाया प्याकुरेल (वर्ष ९१), झापाको भानुमति प्याकुरेल (वर्ष ८७), बाँकेको खजुराकी पद्मादेवी प्याकुरेल (वर्ष ८२), झापा मधुमल्लाका ओमनाथ प्याकुरेल (वर्ष ८१), बाँकेको गौघाटकी लीलावती प्याकुरेल (वर्ष ७६), बाँके खजुराका गणपति प्याकुरेल (वर्ष ७६), कैलाली जुगेडाका पदमलाल प्याकुरेल (वर्ष ७६), झापाका घनश्याम प्याकुरेल (वर्ष ७१), मोरङका ज्ञानप्रसाद प्याकुरेल (वर्ष ७०) र कैलालीको जुगेडाका वेधनिधी प्याकुरेल (वर्ष ७०) लाई महापुराणका कथा वाचक पण्डित कुलचन्द्र प्याकुरेल शास्त्रीले सम्मान गरेका हुन् ।

गत २३ वैशाखको बिहान मानखोलाबाट सुरु कलश यात्रा गरेर, अर्को दिनदेखि दैनिक बिहान ५ बजे प्रातः पूजा, ७ बजे बाल भोग, बिहान ८ बजेदेखि १२ बजेसम्म पाठ पारायण, ४५ मिनेट विश्राम गरेर दिउँसो १ बजेदेखि ५ बजेसम्म कथा श्रवण, अपरान्ह ५ः३० देखि ६ः३० सम्म सन्ध्या आरती, ७ः३० बजेदेखि राति १० बजेसम्म माहत्म्य, भजन, सङ्कीर्तन गरेर ३० वैशाखमा महायज्ञ समापन गरिएको थियो ।

महायज्ञमा महापुराणका कथा वाचक पण्डित कुलचन्द्र प्याकुरेल शास्त्री र उप-कथा वाचकका रुपमा पण्डित माधवचन्द्र अधिकारी शास्त्री रहेका थिए । कथा वाचक, उपवाचक र २ जना पण्डित गरी चार जना पण्डित रहेका थिए । बटुक र अरु पण्डितहरु सहयोगीका रुपमा रहेका थिए । तीन सदस्यीय भजन टोलीको थियो ।

महायज्ञका मुख्य कर्ता ओमप्रकाश प्याकुरेलका अनुसार कुश्माखर प्याकुरेलका चार भाइ र काशीनाथ प्याकुरेलका ११ भाइ छोराका सन्तानहरु बाँके, कैलाली, झापा र मोरङ, सुनसरी र तेह्रथुममा छरिएर बसिरहेका छन् । बाँकेको खजुरा गाउँपालिकाको वडा नं. २ मा प्याकुरेल परिवारको बसोबास रहेको क्षेत्रलाई बर्मेली टोलका नामले चिनिन्छ ।