बर्दियामा विद्यालय बाहिर रहेका बालबालिका पुनः भर्ना अभियान सञ्चालन

गुलरिया : बर्दियामा विद्यालय बाहिर रहेका बालबालिकालाई पुनः भर्ना अभियान सञ्चालन भएको छ ।
चालु शैक्षिक सत्रको सुरुमा सञ्चालन भएको भर्ना अभियानबाट पनि सबै बालबालिकाको भर्ना नभएकाले विद्यालय बाहिर रहेका बालबालिकाका लागि पुनः भर्ना अभियान सञ्चालन गरिएको हो । गेरुवा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नमराज अधिकारी सामान्य भन्दा फरक अवस्था भएका बालबालिका, अपांगता भएका र आर्थिक रूपमा निकै पछाडि परेका परिवारका बालबालिका विद्यालय बाहिर हुनसक्ने सम्भावना रहेको बताउँछन् ।
गेरुवा गाउँपालिकामा विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई विद्यालयमा ल्याउनका गाउँपालिकाको शिक्षा तथा युवा तथा खेलकुद शाखाको आयोजनामा २६ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकको बैठक बसेर पुनः भर्नाबारे छलफल गरिएको छ । बैठकले विद्यालयको क्षेत्राधिकारभित्र विद्यालय नजाने ५ वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिकाहरुको ७ दिनभित्र पहिचान गर्ने र तथ्यांक लिएर विद्यालयमा शत्प्रतिशत भर्ना गराउनका लागि विभिन्न कार्ययोजना निमार्ण गर्ने निर्णय गरिएको बालविवाह न्यूनिकरण परियोजना शिक्षातर्फका प्राविधिक संयोजक लक्ष्मीप्रसाद शर्माले जानकारी दिए ।
प्लान इन्टरनेशनल नेपाल तथा भेरी वातावरणीय विशिष्टिता समूह (बी-ग्रुप)को आर्थिक साझेदारी तथा ठाकुरबाबा नगरपालिका, बारबर्दिया नगरपालिका, मधुवन नगरपालिका र गेरुवा गाउँपालीकाको समन्वय सहकार्यमा विगत १५ महिनादेखि बालविवाह न्यूनिकरण परियोजना सञ्चालन भइरहेको छ । विगतका २० वर्षदेखि शिक्षाको क्षेत्रमा नेपालले उल्लेखनीय प्रगति गरेको छ विद्यालयहरूमा विद्यार्थीहरूको भर्ना दर बढेर ९७ प्रतिशत पुगेको नेपाल सरकारको दाबी छ।