‘सर्पले डसेको बिरामी उपचारमा ल्याए बाँच्छ’

शंकरप्रसाद खनालनेपालगन्ज

सर्पदंशको उपचारमा संलग्न डाक्टरले सर्पले टोकेमा तुरुन्त उपचार केन्द्रमा ल्याए व्यक्तिको ज्यान जोगिने बताएका छन् ।
रोटरी क्लब अफ काठमाडौं मिड टाउनले शनिबार नेपालगन्जमा आयोजना गरेको नेपाल सर्पदंश रोेकथाम विषयक कार्यक्रमका वक्ता डाक्टरहरुले सर्पले टोकेमा गाउँटोलकै धामी, झाँक्री, गुरुवा वा अरु परम्परागत विधिमा नअल्झेर बिरामीलाई तुरुन्त सर्पदंश उपचार केन्द्र वा उपचार हुने रेफरल अस्पतालमा ल्याउन सुझाव दिए ।
भेरी अस्पतालमा सर्पदंशको उपचारमा संलग्न डा. कृष्ण आचार्यले कार्यक्रममा सर्पले टोकेका बिरामीलाई अस्पताल वा उपचार केन्द्रसम्म ल्याउनै ढिलो हुने गरेको अनुभव सुनाए । उनले भेरी अस्पतालमा उपचाररत सर्पदंशका दुई बिरामीलाई कार्यक्रममै उपस्थित गराएर उनीहरुले पाएको सास्ती र उपचारमा भएको सफलताको कथा सुनाएका थिए ।
कार्यक्रममा नेपालमै पहिलो पटक सर्पदंशको उपचार गरेका नवलपरासीको काली गण्डकी अस्पतालका डा.छविलाल थापा मगरले त अस्पताल ल्याएका सबै सर्पदंशका बिरामीलाई भेन्टिलेटर आवश्यक नरहेको अनुभव सुनाउँदै बिषालु सर्पले टोकेको व्यक्तिले समयमै एन्टि स्नेक भेनम पाएमा निको हुने बताए । उनले सुझाव दिए, ‘धामी झाँक्री कहाँ लगेर ल्याउँदा ढिलो हुन्छ । बाटोमै मृत्यु हुनसक्छ । सर्पले टोकेको व्यक्तिले समयमै उपचार पाए निको हुन्छ ।’
भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले ८० प्रतिशत बिरामी त अस्पताल ल्याउँदा ल्याउँदै मृत्यु हुने गरेको बताउँछन् । उनले कार्यक्रममा भने, ‘सर्पले टोकेमा प्रि हस्पिटल केयर नै सबैभन्दा महत्वपूर्ण हुन्छ । समयमै अस्पताल ल्याउन सके अकालमै ज्यान गुमाउनु पर्दैन ।’
भेरी अस्पतालमा प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाई सर्पले टोकेमा सरकारी अस्पतालमा एन्टि स्नेक भेनम निःशुल्क भए पनि भेन्टिलेटर र अ? उपचारका साथै औषधि महंगो पर्ने भएकाले विपन्न ब्यक्ति मारमा परिरहेको बताउँछन् । उनले सरकारी र निजी अस्पतालमा सर्पदंशको सर्वसुलभ उपचारको व्यवस्था गर्न सरकारसँग माग गरे ।
कार्यक्रममा नेपाली सेनाका डा.रामशरण नेपालीले सेनाले गरिरहेको सर्पदंशको उपचारबारे जानकारी गराएका थिए । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालकी डा. सितल पाठकले रोटरीको सर्पदंश रोकथाम अभियानमा सहकार्य गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।

डब्लुएचओका डा.प्रकाश शाक्यले नेपालमा डब्लुएचओले सर्पदंश रोकथामका लागि प्राविधिक सहयोग, नीति निर्माण, अनुसन्धान लगायतका विषयमा सघाइरहेको जानकारी गराए । कार्यक्रममा रोटरी क्लब काठमाडौँ मिड-टाउनका अध्यक्ष डा. निर्मल रिजालले चार वर्षे नेपाल सर्पदंश रोकथाम सञ्चार अभियानबारे जानकारी गराएका थिए । तराईको विभिन्न स्थानमा सर्प डसाइले हरेक वर्ष अकालमा ज्यान जाने गरेकाले त्यसबाट बचाउनका लागि अभियानका क्रममा नेपाली, थारू, अवधि, भोजपुरी र मैथली भाषामा सर्पदंशबारे मिथिला कलामा आधारित पाँच भाषाको पोस्टर, रेडियो कार्यक्रम र पीएसए मार्फत जनचेतना जगाउने काम भइरहेको बताएका थिए ।
यस्तो नेपाल जहाँ सर्पदंशबाट कसैको मृत्यु नहोस् भन्ने नाराका साथ विश्व स्वास्थ्य सङ्गठन, स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागको स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र र रोटरी क्लबको आयोजनामा नेपालका २५ जिल्लामा चार वर्षे सर्पदंश रोकथाम अभियान सुरु भएको छ ।