बालविवाह, जबरजस्ती विवाह र लैङ्गिक हिंसाबिरुद्ध सडक नाटक

धनौरा (बर्दिया) : 
पात्र : ५ जना मात्रै ।
विषय : बालविवाह, जबरजस्ती विवाह र लैङ्गिक हिंसा ।
एउटै नाटकमा तीन वटै विषय सम्बोधन गर्न सम्भव होला ?

पतिको अत्याचार सहन नसकेर आमा आत्महत्या गर्न बाध्य हुन्छिन् । छोराको चाहना हुँदा जन्मेकाले छोरीलाई हेला हुन्छ । पढ्न जान नदिएर बाबुले जबरजस्ती बालविवाह गर्न खोज्छन् । ठूलो मान्छे बन्ने सपना बोकेर छोरी घरबाट भाग्छे । १५ वर्ष संघर्ष गर्दै डाक्टर बन्छे । घर फर्केर बिरामी बाबुको उपचार गर्छे । बाबुछोरीको पुनःमिलन हुन्छ । छोरीलाई विभेद गरेको महसुस गर्दै बाबुले माफी माग्छन् । नाटक यत्तिमै सकिन्छ ।

एक अर्कासँग अन्तरसम्बन्धित यी विषयलाई धनौराका कलाकारहरु आदित्य चौधरी, सरुना चौधरी, पुष्पा चौधरी, सुवाश चौधरी र प्रताप थारुले जीवन्त अभिनय मार्फत एउटै नाटकमा समेटेर समाजलाई तीन तीन वटा सकारात्मक सन्देश दिए । नाटकले समाजमा छोराछोरी बराबर हुन्छन् । अवसर पाउँदा छोरीले पनि छोराले जस्तै काम गर्न सक्छन् । छोराछोरीमा विभेद गर्नु हुन्न । सानै उमेरमा सन्तानको बिहे होइन, शिक्षादीशा दिनुपर्छ । बर्दियाको मधुवन नगरपालिका ३ धनौराको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको परिसरमा किशोरकिशोरीले बालविवाह, जबरजस्ती विवाह र लैङ्गिक हिंसाबिरुद्ध सडक नाटक प्रदर्शन गरेर समातामूलक समाज निर्माणका लागि सन्देश प्रवाह गरे ।

मधुवन नगरपालिका, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय धनौराको समन्वय तथा प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बी ग्रुप नेपालगन्जको आर्थिक सहयोगमा परिवर्तनका संवाहकहरु (सीओसी ग्रुप)मा आबद्ध किशोरकिशोरीले गत शुक्रबार सडक नाटक आयोजना गरेका थिए ।
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय धनौराका विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्रीप्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक संघ मधुवन नगरपालिकाका अध्यक्ष धनिराम गौतम प्रमुख अतिथि र विद्यालयको शिक्षक अभिभावक संघ अध्यक्ष अनिता चनारालगागत अतिथि रहेका थिए ।