भेरी अस्पताल विकास समितिको अध्यक्षमा शाह

नेपालगन्ज : नेपाल सरकारले भेरी अस्पताल विकास समितिको अध्यक्षमा वीरेन्द्रबहादुर शाहलाई मनोनयन गरेको छ । शाह नेपालगन्ज उपमहानगरपालिका-१३ का निवर्तमान वडाध्यक्ष र नेपाल तरुण दल बाँकेका अध्यक्ष हुन् ।
भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईका अनुसार गत १७ असारको मन्त्रिपरिषद् बैठकले शाहलाई अस्पताल विकास समितिको तीन वर्षे कार्यकालका लागि अध्यक्षमा मनोनयन गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बरिष्ठ अस्पताल नर्सिंग प्रशासक शकुन्तला प्रजापतिद्वारा हस्ताक्षरित मनोनयन पत्र आइतबार शाहलाई मनोनयन पत्र दिएको हो । मन्त्रालयले पत्र बोधार्थ भेरी अस्पताल विकास समितिलाई दिइएको छ । अस्पताल विकास समितिको अध्यक्ष मन्त्रिपरिषद्बाट मनोनयन गरिने र सदस्यहरु मन्त्रीस्तरीय निर्णयबाट मनोनयन गर्ने प्रावधान रहेको मेसु चापागाईले प्रष्ट पारे । सत्ताधारी दलको भागवण्डा अनुसार नाम सिफारिस भइसकेकाले केही दिनभित्रै सदस्य मन्त्रीस्तरीय निर्णयबाट नियुक्त हुने सम्बद्ध स्रोतले जनाएको छ ।
य।सअघिका अध्यक्ष प्रमोद धिताल, सदस्यहरु धनराम ओली, कृष्णप्रसाद श्रेष्ठ र सरस्वती मल्लको कार्यकाल गत जेठ १३ मा सकिएको थियो । भेरी अस्पतालले समितिका अध्यक्ष र सदस्यलाई गत १० जेठमा विदाइ गरेको थियो । उनीहरुलाई २०७७ साल जेठ १३ गते मनोनयन गरिएको थियो ।