बाँकेमा पनि मनाइयो भानु जयन्ती

नेपालगन्ज : आदिकवि भानुभक्त आचार्यको २१०औं जयन्ती बाँकेमा पनि विविध कार्यक्रम गरेर मनाइएको छ ।
भानु चोक संरक्षण समिति नेपालगन्जले भेरी साहित्य समाज केन्द्रीय समितिसँगको सहकार्यमा शुक्रबार बिहान भानु जयन्ती मनाएको हो । सो अवसरमा भेरी अस्पताल नेपालगन्ज परिसरमा बिरामी र कुरुवाका लागि २० रुपैयाँ (हाल ४०)मा खाना खुवाउने अञ्जनी माता रसोइलाई सम्मान गरिएको थियो ।


भानु चोक संरक्षण समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य सचिव कथाकार प्राज्ञ सनत रेग्मी, प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सभा सदस्य प्राज्ञ शशीराम कार्की र महानन्द ढकाल दुई दर्जन बढी स्रष्टाहरूको उपस्थिति रहेको थियो ।


त्यसैगरी हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आख्यान विभागले पनि भानु जयन्तीको अवसरमा शुक्रबार नै रचनावाचन र भानु विमर्श कार्यक्रम आयोजना गरेको थियो । भाषा आयोगका सदस्य डा. पुष्करराज भट्ट एवं प्रगतिशील लेखक संघका अध्यक्ष तथा नेपाल प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य प्रा.डा. मदुसूदन गिरीको विशेष उपस्थितिमा भानु जयन्ती मनाइएको हो । कार्यक्रममा दर्जन बढी स्रष्टाहरूले रचना वाचन गरेका थिए ।