नरैनापुरमा थप १२ सहित एकैदिन ५९ जनामा कोरोना पुष्टि
नेपालगन्ज : बाँकेको नरैनापुर गाउँपालिकामा सोमबार राति थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले राति १०ः१५ मा विज्ञप्ती जारी गरी नरैनापुर गाउँपालिकामा १२ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । यसअघि अपरान्ह चार बजेको भिडियो पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले नरैनापुरमा ४६ पुरुष र एक महिलासहित ४७ जनामा कोरोना संक्रमित भएको पुष्टि गरेका थिए ।नरैनापुरमा कोराना संक्रमितको संख्या ६८ पुगेको छ भने नेपालगन्जका २५ गरी बाँके जिल्लामा ९३ जनामा जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । आइतबार नरैनापुरका २५ वर्षका युवाको कोरोनाबाट मृत्यु भएको थियो । शनिबार संकलन गरिएका दुई सय ६३ मध्ये कोरोना परीक्षण गर्न बाँकी रहेका ७० जनामध्ये १२ जनाको रिपोर्ट पोजेटिभ आएको भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश थापाले जानकारी दिए ।
सोमबार राति धनुषामा दुई, खोटाङ, दैलेख, सुनसरी र झापामा थप एक एक जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन सय ७५ पुगेको छ । दुई जनाको मृत्यु भइसकेको छ भने ३६ जना निको भएका छन् ।