१५ कार्तिकदेखि मुख्यमन्त्री कोहलपुर गोल्डकप हुँदै

नेपालगन्ज : बाँकेको कोहलपुरमा आगामी १५ कार्तिकदेखि मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुख्य नारासहित कार्तिक १५ देखि २२ गतेसम्म कोहलपुर रेसिङ्ग साहारा क्लबले कोहलपुर नगरपालिकाको वडा नं. २ स्थित तेह्र विघा मैदानमा प्रतियोगिता गर्न लागेको आइतबार कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । क्लबका अध्यक्ष चक्र क्षेत्रीका प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफ.सी.सहित नेपालका ए डिभिजनका ७ क्लबहरु सहभागी हुनेछन् । जसमा चर्च व्वाईज यूनाईटेड काठमाण्डौं, गोर्खा व्वाईज स्पोर्टस क्लब बुटवल, सुदुरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौं, कोहलपुर रेसिङ्ग साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन, एभिनियर एफ.सि. क्यामरुन र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी आठ टिम सहभागि हुने क्लबका अध्यक्ष क्षेत्रीले बताए ।

पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष चक्र क्षेत्रीसचिव नवकिरण शाह, कोहलपुर रेसिङ्ग साहारा क्लब कोहलपुरका कप्तान हरि कठायत र कोच जनक केसीले संयुक्त रुपमा लोगो, मुल व्यानर, टाइसिट र जर्सी सार्वजनिक गरेका थिए । ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप खेलकुद प्रतियोगिता—२०८०’ सञ्चालन तथा व्यवस्थापनका लागि करिब ८० लाख रुपैया लागत अनुमान गरिएको क्लबका कोषाअध्यक्ष काशीराम अधिकारीले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख र दोस्रो पुरस्कार ४ लाखसहित ट्रफि प्रदान गर्ने अध्यक्ष क्षेत्रीले बताए ।