रिगलको आत्मसमर्पण हो कि, प्रहरी नियन्त्रण ?

नेपालगन्ज : गुण्डा नाइके योगराज ढकाल ‘रिगल’लाई बिहीबार अपरान्हलाई प्रहरीले पक्राउ गरेको खबर सनसनी मच्चियो ।

आमसञ्चार माध्यममध्ये कतिले रिगलले आत्मसमर्पण गरे भनेर समाचार लेखे । कतिले प्रहरीले लुकेको अवस्थामा नियन्त्रणमा लिएको खबर प्रकाशित गरे । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडासहित न्यायाधीशहरू सपना प्रधान मल्ल र डा. कुमार चुडालको पूर्ण इजलासले रिगललाई आममाफी दिने राष्ट्रपति पौडेलको निर्णय बदर गरेपछि रिगल पुनः पक्राउ परेका हुन् । फरक फरक मिडियामा आएका खबरमा सत्यता के हो त ? जिज्ञासा हुनसक्छ ।

बिहीबार अपरान्ह ४ः३० बजेतिर नेपालगन्जको न्यूरोडस्थित सेतु विक चोक नजिक ससुराली घरमा लुगेर बसेको अवस्थामा नियन्त्रणमा लिएको बाँके प्रहरी प्रमुख एसपी सुवास चन्द्र बोहोरा दाबी गर्छन् । यद्यपि प्रहरी नियन्त्रण अघि उनले फेसबुक ग्रुप नेपालगन्ज ग्यालरीलार्ई दिएको छोटो अन्तर्वार्तामा आत्मसमर्पण गर्न लागेको बताएका छन् । नेपालगन्ज ग्यालरीले ‘ब्रेकिङ न्यूज : अदालतको फैसलाको सम्मान गर्दै रिगल जिल्ला प्रहरी कार्यालय बाँकेमा आत्मसमर्पण गर्न जाने भएका छन्’ लेखेर भिडियो राखिएको छ । भिडियोमा रिगलले भनेका छन्, ‘सम्मानित अदालतले गरेको निर्णयप्रति म सम्मान गर्दै, कानुनमाथि फेरि पनि विश्वास राख्दै, म भोलि फेरि न्याय पाउनेछु भन्ने विश्वास राख्दै म आफूलाई कानुन समक्ष आत्मसमर्पण गर्न जाँदैछु । मलाई लागेको दोषहरु पछि के हुन्छ कसो हुन्छ ? त्यो फेरि छानबिन होला ?’

उनी भिडियोमा अगाडि थप्छन्, ‘२०७२ सालमा मलाई दोष लागेर हिजो दिनमा पनि मैले आत्मसमर्र्पण गरेर कानुनप्रति विश्वास राखेर जिल्ला अदालत बाँकेमा आत्मसमर्पण गरेको थिए । त्यही तरिकाले म आज फेरि आत्मसमर्पण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेमा जाँदैछु ।’

सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा चेक सर्ट लगाएका एक युवाले रिगलको दायाँ हात समातेर उनी सडकमा हिड्दै गरेको, केही पर जिप्रका बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगी, बरिष्ठ सइ माधव रिजालसहितका प्रहरी रहेको गाडी रिगललाई कुरेर बसेकोे र उनी गाडी नजिक नियन्त्रणमा लिएर पिकअप गाडीमा चढाएको देखिन्छ ।
जिप्रका प्रमुख एससी बोहोरा भने कोठाभित्र अन्तर्वार्ता दिए पनि प्रहरीले रिगललाई पक्राउ गरेको दाबी गर्दै भन्छन्, ‘आत्मसमर्पण गरेको होइन । न्यूरोडमा लुकेको अवस्थामा हामीले नियन्त्रणमा लिएका हौं ।’ ८ असार २०७२ मा चेतन मानन्धरको खुँडा प्रहार गरेर हत्या गरेको जिल्ला अदालतले फैसला गरेपछि रिगल जेलमा थिए । गत ४ असोजमा संविधान दिवसको दिन राष्ट्रपतिबाट आममाफी पाएर उनी दाङको घोराही कारागारबाट रिहा भएका थिए ।