नेपालगन्ज उद्योग वाणिज्य संघद्वारा जाजरकोट र रुकुमका भूकम्प पीडितलाई राहात हस्तान्तरण

खलंगा (जाजरकोट) : नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई सवा तीन लाख रुपैयाँभन्दा बढीको राहात सामग्री हस्तान्तरण गरेको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष धामीले उद्योग वाणिज्य संघ जाजरकोटका अध्यक्ष रमेश केसीमार्फत जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्मालाई सोमबार साँझ राहात सामग्री हस्तान्तरण गरेका थिए । सो अवसरमा उपाध्यक्ष मन्दिरा पाण्डे, महासचिव भीमबहादुर रानाभाट, विपद व्यवस्थापन समिति संयोजक तथा कार्य समिति सदस्य टीकामणि उपाध्याय, कार्यसमिति सदस्य इन्दिराकुमारी शाहीलगायतको सहभागिता रहेको थियो ।
राहात सामग्री हस्तान्तरण गर्दै अध्यक्ष धामीले भूकम्पबाट चहराइरहेको पीडितको घाउमा थोरै भए पनि मल्हम लगाउने होस् भनेर राहात वितरण गर्न आएको बताए । संघले उपलब्ध गराएको राहात सामग्रीमा १४४ थान कम्मल, चौध क्वीन्टल चिउरा, २० बोरा भुजा, १० बोरा दालमोठ, बिस्कुट २० पेटी, चाउचाउ १५० पेटी, पानी ५० पेटी र पीफर्म ५ रोल रहेको महासचिव भीमबहादुर रानाभाटले जानकारी दिए ।

यी सामग्री जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई आधा आधा बाँडेर सम्बन्धित जिल्लाका उद्योग वाणिज्य संघ मार्फत हस्तान्तरण गरिएको थियो । संघले उपलब्ध गराएको राहात सामग्री जिल्ला प्रशासन कार्यालय जाजरकोटले तत्कालै कुशे गाउँपालिकाका भूकम्प पीडितका हस्तान्तरण गरेको थियो ।