भूकम्प पीडितका लागि भारतीय राजदूत श्रीवास्तवद्वारा १६ करोडको राहात सामग्री हस्तान्तरण

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालगन्जमा नेपालका सरकारका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई राहत सामग्री हस्तान्तरण गर्दै

नेपालगन्ज : जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि भारत सरकारले १६ करोड रुपैयाँ बराबरको आपतकालीन राहत सामग्री सहयोग गरेको छ । आइतबार नेपालगन्ज विमानस्थलमा नेपालका सरकारका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले राहत सामग्री हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा पनि उपस्थित थिए । राजदुत श्रीवास्तवले नेपालमा भूकम्प पीडितहरूलाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।


एक विशेष भारतीय वायुसेना सी—१३० उडानले ११ टन भन्दा बढी तौलका त्रिपाल, कम्बल र सुत्ने डस्ना, झोलाका साथै आवश्यक औषधि र पोर्टेबल भेन्टिलेटरहरू जस्ता प्रभावित व्यक्तिका लागि चिकित्सा उपकरणहरूसहितका आपतकालीन राहत सामग्री ढुवानी गरेको थियो । राहत सामग्री लिएर भारतीय वायुसेनाको विमान नयाँ दिल्लीबाट नेपालगन्ज आएको थियो ।