नेपालगन्ज कनक्लेभ : विषय केन्द्रीत बहसको थालनी

अन्जना धिताल । नेपालगन्ज

बाँकेमा विषय केन्द्रीत बहसको थालनी भएको छ ।
क्रियटिभ हेण्डस्ले नेपालगन्ज कनक्लेभ नाम दिएर स्थानीय र राष्ट्रिय विषय विज्ञ र सरोकारवालाबीच ६ वटा विषयमा शुक्रबार दिनभर नेपालगन्जमा बहस गरेको हो ।
कनक्लेभको पहिलो सत्र ‘खेलकुदसँग टुटेको कडी : शिक्षा, स्वाथ्य र खेलकुद्’ रहेको थियो । बहसमा कर्णाली प्रदेशका प्रमुख सचिव चुडामणी पौडेल, विद्यालय सन्चालक शशी स्वार, मुटुरोग विशेषज्ञ डा। विकास नेपाल, म्याराथन धाविका सन्तोषी श्रेष्ठ सहभागी थिए । सेसनको मोडेरेसन पत्रकार प्रकाश तिमिल्सेनाले गरेका थिए । बहसमा कर्णाली प्रदेशका प्रमुख सचिव पौडेलले राजतन्त्रपछि खेलकुदमा नीतिगत परिवर्तन भए पनि परिणाममुखी बनाउन नसकिएको स्वीकारे ।

कनक्लेभको पहिलो सत्र नेपाली आख्यान : के पढ्ने ? के लेख्ने ? विषयमा रहेको थियो । जसमा आख्यानकार नयनराज पाण्डे, उपन्यासकार सुविन भट्टराई, मदन पुरस्कार २०७९ विजेता उपन्यासकार विवेक ओझा, नायिका सुरक्षा पन्तले बहस गरेका थिए । उनीहरुले कालजयी साहित्यिक कृतिबारे चिन्तन मन्थन गरेका थिए । यो बहसको मोडेरेटर शिलापत्र डटकमका सम्पादक जनक नेपालले गरेका थिए । आख्यानकार पाण्डेले रहरले लेखिएका पुस्तक कालजयी नहुने धारणा राखेका थिए ।
नेपालगन्ज कनक्लेभको तेस्रो शत्रमा ‘पश्चिम नेपाल : उद्यमशीलता, पर्यटन र रोजगारी’ विषयमा मन्थन भयो । उक्त सेसनमा के एल दुगड ग्रुपका सिइओ प्रदीप छाजेड, नेपाल उद्योग परिसंघका कार्यकारी निर्देशक दीपकराज जोशी, धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल वक्ताका रुपमा रहेका थिए । कर्णाली विकास बैंकका अध्यक्ष डा. ओम मिश्रले सहजीकरण गरेको उक्त सेसनमा सहभागीहरुले पश्चिम नेपालका सम्भावनाका विषयमा आफ्ना धारणाहरु राखेका थिए ।
नेपालगन्ज कनक्लेभको चौथो शत्र ‘आकाश धर्ती बराबरीः महिला सशक्तिकरण’ शीर्षकको सत्रमा पाइलट भावना पन्त, पर्वतारोही पूर्णिमा श्रेष्ठ, मिस नेपाल वल्र्ड श्रृच्छा प्रधान, ओलम्पियन पार्वती थापा वक्ताका रुपमा थिए । मानवअधिकारकर्मी मोहना अन्सारीले सहजीकरण गरेको उक्त सत्रमा यी सफल महिलाहरुले आफ्ना संघर्षका अनुभव सुनाए र महिला सशक्तिकरणका सन्दर्भमा आफ्ना धारणाहरु राखे ।

नेपालगन्ज कनक्लेभको पाँचौ शत्रमा ‘स्वदेशमै सम्भव छ : युवा, उद्यम र रोजगार’ शीर्षकको सत्रमा उद्यमशीलता, नवप्रवर्तन र रोजगारीका सन्दर्भमा गरिएको बहस गरिएको थियो । वैदेशिक रोजगारीमा युवा आकर्षित भइरहेका बेला रोजगारदाता, उद्यमी र सरकारी अधिकारीहरुले स्वदेशमै रोजगारी सम्भव भएको बताएका थिए । कार्यक्रममा युवा उद्यमीहरु भायानेटका सिइओ सेवा पाठक, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका डा. जित चन्द, डल्फिन ग्रुपका डाइरेक्टर तीर्थ थापा, युवा उद्यमी मन्चका अध्यक्ष सहारा जोशी वक्ताले यस्तो बताएका हुन् । नेपालगन्ज मेडिकल कलेजका निर्देशक डा. नितेश कनोडियाले सहजीकरण गरेको कार्यक्रममा उद्यमीहरुले आफ्ना अनुभव र सिकाइहरु आदान–प्रदान गरेका थिए ।

नेपालगन्ज कनक्लेभको छैठौं शत्रमा महानायक राजेश हमालसँग समाज, सिनेमा र साहित्यका विषयमा केशव सिग्देलले संवाद गरेका थिए । अभिनेता शाहले हरेक क्षेत्रका व्यक्तिले देश, समाजको विभिन्न मुद्दाबारे जानकारी हुनुपर्ने बताएका थिए ।
नेपालगन्ज कनक्लेभका निर्देशक जनक नेपालले नेपालगन्ज म्याराथनको अवसरमा विषय केन्द्रीत छलफलको थालनी गरेको बताउँछन् । उनी भन्छन्, ‘कला, साहित्य, सिनेमा र समाजका आर्थिक, सामाजिक र राजनीतिक विषय केन्द्रीत यो बहस हामीले विगतमा आयोजना गरेका नेपालगन्ज लिटरेचर फेस्टिवलको निरन्तरताको रुपमा लिएका छौैं । आगामी दिनमा बहसलाई अझ परिस्कृत गरेर दुई दिनसम्म सञ्चालन गर्ने योजना बनाएका छौैं ।’