घोषणा गरेको १५ महिनापछि नगर प्रमुख विष्ट नगरमा ‘वान वे’ बनाउँदै

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले गणेशमान चोकदेखि चारबाहिनीसम्मको सडकलाई वान वे बनाउने भएको छ ।
उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले १२ भाद्र, २०७९ मा आफ्नो कार्यकक्षमा ट्राफिक प्रहरी, उद्योगी व्यवसायी र पत्रकारलगायतका सरोकारवालालाई डाकेर नगरमा वान वे बनाउने सडकबारे सम्भाव्यता अध्ययन गरिने घोषणा गरेका थिए । त्यत्तिबेला नगर प्रमुख विष्टले काठमाडौंमा तीन तीन किलोमिटरसम्म वान वे सडक बनाइएकाले नेपालगन्जमा पनि वान वे बनाउन सकेमा ट्राफिक व्यवस्थापन गर्न सहज हुने बताएका थिए ।
नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा जिल्ला प्रशासन कार्यालय बाँकेमा शनिबारबसेको सरोकारवालाहरुको बैठकले बढ्दो सवारी साधनको चापलाई मध्यनजर गर्दै गणेशमान चोकदेखि चारबाहिनी चोकतर्फको सडकलाई पनि वन वे बनाउने निर्णय गरिएको हो । सोही बैठकले त्रिभुवन चोकदेखि त्रिवेणी मोडसम्म चार पांग्रे सवारी साधन जान नदिने पनि निर्णय गरेको छ । नगरमा यात्रु बोक्ने रातो नम्बर प्लेटका इ-रिक्सा मंसिर २३ गतेदेखि गुड्न नपाउने भएका छन् । बैठकले रातो नम्बर प्लेटलाई कालो बनाउन मंसिर २२ गतेसम्मको समय दिने निर्णय गरेको छ ।