प्रहरी संंलग्नतामा भित्रिन्छ अवैध युरिया मल !

रमेशकुमार यादव । डुडुवा
बाँकेको भारतीय क्षेत्रमा प्रहरीको मिलोमतोमा नै अवैध रुपमा रसायनिक मल युरिया भित्रिने गरेको रहस्य खुलेको छ ।
डुडुवा गाउँपालिकामा वडा नं १ मा रहेको प्रहरी चौकी खडैचा कार्यरत प्रहरी सहायक निरीक्षक (असइ) गजेन्द्रसिंह भण्डारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल, सम्पर्क कार्यालय नेपालगन्जको टोलीले गत बुधबार आठ हजार रुपैयाँसहित पक्राउ गरेको हो ।अख्तियारको मुख्य कार्यालय टंगाल काठमाडौंका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार कृषि प्रयोजनको लागि ल्याएको युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने भनी सेवाग्राहीबाट आठ हजार रुपैयाँ घुस (रिसवत) माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार टोलीले पक्राउ गरेको जनाएका छन् ।
सरकारले अनुदानमा उपलब्ध गराउने रसायनिक मल समयमै नपाउँदा किसानले भारतीय बजारबाट अवैध रुपमा युरिया, डीएपीलगायतका मलहरु ल्याउन बाध्य छन् । अवैध मल ल्याउँदा प्रहरीलाई घुस दिनुपर्ने स्थानीयहरु बताउँछन् ।