विद्यार्थीको दिवा खाजामा डुडुवा गाउँपालिको गिद्दे दृष्टि !

कक्षा १ देखि ५ कक्षाका विद्यार्थीको दिवा खाजाको साढे ३५ लाख कटाएर करारमा स्वास्थ्यकर्मी नियुक्त !

रमेशकुमार यादव । बालापुर
बाँकेको डुडुवा गाउँपालिकाले आधारभूत तहका विद्यार्थीको दिवा खाजाको झन्डै साढे ३५ लाख रुपैयाँ कटाएर करारमा स्वास्थ्यकर्मी नियुक्त गरेको छ ।
महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको डुडुवा गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण प्रतिवेदनमा कक्षा १ देखि ५ कक्षाका विद्यार्थीका लागि विनियोजन गरिएको ३५ लाख ४१ हजार ७०९ रुपैयाँलाई शीर्षक फरक पारी खर्च गरिएको हो । महालेखापरीक्षकको कार्यालयले यो रकम बेरुजु देखाएकोे छ । एकीकृत आर्थिक संकेत तथा वर्गीकरण र ब्याख्या २०७४ अनुरूप खर्च संकेत प्रयोग गरी खर्च लेख्नु पर्छ। नमुना छनोट आधारमा श्रेष्ठताको जाँच गर्दा पालिकाले कारोबारमा खर्च संकेत फरक पारी खर्च गरेको भन्दै बेरुजु देखाएको हो ।
त्यसैगरी कक्षा १ देखि ५ कक्षाका विद्यार्थीहरूको दिवा खाजाका लागि विनियोजन गरिएको १२ लाख १९ हजार ५४४ रुपैयाँ पनि शीर्षक परिवर्तन गरेर पाठ्यपुस्तकको दोस्र्रो किस्तामा भुक्तानी गरिएको देखाएको छ । विद्यार्थीका लागि निःशुल्क पाठ्यपुस्तकको चार लाख ४७ हजार ३०० रुपैयाँ भने पाठ्यक्रममै नभएको डिक्सनरी र एल इन वान खरिद गरेको छ । विद्यार्थीको खाजा र पाठ्यक्रम गरी गाउँपालिकाले ५२ लाख ८ हजार ५५३ रुपैयाँ महालेखाले बेरुजुमा देखाएको छ ।

त्यसैगरी मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रममा विद्यालयको आवश्यकता र औचित्यको आधारमा शैक्षिक क्षेत्रको सुधारको लागि खर्च गर्नुपर्नेमा डुडुवा गाउँपालिकाले विभिन्न गोश्वारा भौचरबाट सवारी साधन मर्मतको बिल, भरपाइ, इन्धन र दैनिक भ्रमण भत्ताको बिल भरपाइ गरी १७ लाख १५ हजार ४३८ रुपैयाँ खर्च गरेको छ । यस्तो कार्यलाई उद्देश्य अनुरुप नभएको भन्दै महालेखाले नियन्त्रण गर्न भनेको छ ।