नेपालगन्ज-४ मा परीक्षण गराएकामध्ये १० महिलालाई पाठेघरको क्यान्सर पुष्टि

सहाबुद्दिन हलवाई । नेपालगन्ज
नेपालगन्ज उपमहानगरपालिका ४ का १० जना महिलालाई पाठेघरको क्यान्सर पुष्टि भएको छ ।
जनसेवा फार्मेसीको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. ४ को सहकार्यमा शनिबार सञ्चालन गरिएको पाठेघरको क्यान्सरको एक दिने निःशुल्क स्क्रिनिङ्ग स्वास्थ्य शिविरमा २३६ जनाले सेवा लिँदा १० जनाको रिपोर्ट पोजेटिभ आएको हो । स्वास्थ्य प्रबर्द्धन केन्द्रमा सञ्चालन भएको शिविरमा निःशुल्क पाठेघरको क्यान्सर स्क्रीनिङ्ग गर्नुका साथै सुगर र प्रेसरको जाँच निःशुल्क गरिएको नेपालगन्ज ४ का वडाध्यक्ष गोपाल पुनले बताए ।

डा. राम विष्ट लगायतको स्वास्थ्यकर्मीको टोेलीले महिलाको स्वास्थ्य परीक्षण गरेको थियो । शिविरमा २३६ जनाले सेवा लिनु भएकोमा २२६ जनाको रिजल्ट नेगेटिभ आएको र १० जनामा पोजिटिभ देखिएकोले पोजिटिभ देखिएका महिला दिदीबहिनीहरुको भोलि सम्बन्धित जनसेवा फार्मेसीमा निःशुल्क रुपमा परामर्श लिन सकिने वडा अध्यक्ष पुनले प्रष्ट पारे ।