नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न
नेपालगन्ज : बाँकेको नेपालगन्जमा जारी नेतृत्व विकास तथा उद्घोषण कला तालिम सम्पन्न भएको छ ।
नारी कल्याण समाज बाँकेले नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरेको पाँच दिने तालिम सोमबार सम्पन्न भएको हो ।
तालिममा नगरका २३ वटा वडाका एक एक जना गरी २३ जना महिलाको सहभागिता रहेको थियो । तालिममा उद्घोषणको सैद्धान्तिक र व्यवहारिक अभ्यास युरेशिया रेयुकाइका प्रमुख शशी सिंह र पत्रकार शंकरप्रसाद खनालले गराएका थिए । नेतृत्व विकासबारे यशोदा उपाध्यायले सहजीकरण गरेकी थिइन् ।
हरेक दिन कार्यक्रम सञ्चालनको अभ्यास गरेका सहभागीबीच चौथो दिन सहभागीबीच उद्घोषण प्रतियोगिता गरिएको थियो । प्रतियोगितामा प्रजिता गुरुङ प्रथम, आरती केसी दोस्रो र मीरा अधिकारी तेस्रो भएकी थिइन् । विजेता तीनै जनालाई प्रमाणपत्र सहित पुरस्कार प्रदान गरिएको थियो ।
प्रथम भएकी प्रजिता गुरुङले सोमबार तालिम समापनको अवसरमा उद्घोषण गर्ने अवसर पाएकी थिइन् । नारी कल्याण समाजका कार्यवाहकअध्यक्ष यशोदा उपाध्यायको सभापतित्व सम्पन्न कार्यक्रममा कोषाध्यक्ष विमला गुरुङले स्वागत गरेकी थिइन् ।