‘बाँकेको गुणस्तरीय शिक्षामा सोफिया स्कुलको योगदान प्रशंसनीय’
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाको शिक्षा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापाले बाँकेमा गुणस्तरीय शिक्षा प्रदान गर्न र उत्कृष्ट अतिरिक्त क्रियाकलाप गर्न सोफिया स्कुलको योगदान प्रशंसनीय रहेको बताएका छन् ।
सोफिया रेजिडेन्टल स्कुल नेपालगन्जको बिहीबार नेपालगन्जमा सम्पन्न १८औंं वार्षिकोत्सव तथा क्रिसमस समारोहका प्रमुख अतिथि रहेका थापाले जिल्लाकै उत्कृष्ट विद्यालयहरूको रुपमा सोफिया स्कुललाई निकट भविष्यमै घोषणा गरिने प्रतिबद्धता पनि व्यक्त गरे ।
राज्य सञ्चालकहरूको उदासीनताका कारण देशको शिक्षाको विकास प्राथमिकतामा नपरेको गुनासो गर्दै उनले शिक्षाको गुणस्तर उकास्न निजी विद्यालयहरूको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रशंशा गरेका थिए ।
सोफिया विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केबी बसेलको अध्यक्षतामा सम्पन्न कार्यक्रम विद्यार्थीको स्वागत मन्तव्यबाट शुरु भएको थियो । कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य डा. डक्टप्रसाद धितालले जिल्लामै अनुकरणीय काम गरेर नाम बनाउन सफल सोफिया स्कुल गाउँ तहमा शिक्षाको विकासका लागि महत्वपूर्ण काम गरेको बताए । अहिले सबै अभिभावकले आफ्ना सन्ततिलाई कसरी राम्रो, समयसापेक्ष शिक्षा दिने भनेर विद्यालय खोजिरहेको अवस्थामा त्यसको परिपूर्ति सोफिया स्कुलले गर्नुपर्ने उनको सुझाव थियो ।
सो अवसरमा विद्यालयका प्रबन्ध निर्देशक सुशीला बसेलबाट विद्यालयले गरेका गतिविधिलाई समेटेर तयार गरिएको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
वार्षिकोत्सव समारोहलाई भव्य र मनोरञ्जक बनाउन नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीले सामूहिक नृत्य, नाटक, पश्चिम नेपालका लोपोन्मुख नृत्य, गीत, साहित्यिक रचना गरी ३८ वटा प्रस्तुती थिए । आफ्नै सन्तानका मनमोहक प्रस्तुतीबाट अभिभावकलाई मन्त्रमुग्ध पारेको थियो ।
सोही अवसरमा विद्यालयले एक वर्षको अवधिमा आयोजना गरेको विभिन्न प्रतियोगिताका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार, पदक तथा प्रमाणपत्र वितरण गरेको थियो । वार्षिकोत्सव समारोहमा पूर्वमन्त्री गजेन्द्र हमाल, उद्योग वाणिज्य महासंघ सदस्य अब्दुल वाहिद मन्सुरी, सामाजिक विकास डिभिजन कार्यालयका प्रमुख उद्धव श्रेष्ठ, पत्रकार र समाजसेवीको उपस्थिति थियो ।
संस्थापक प्राचार्य सुशीला बसेलका अनुसार नेपालगन्ज उपमहानगरपालिका-१० मा २०६१ सालमा ४ जना विद्यार्थीबाट सुरु भएको विद्यालयमा अहिले १२ कक्षासम्म ८०० बढी विद्यार्थीहरू अध्ययन गरिरहेका छन् ।