बेवास्तामा ‘औद्योगिक नगर’

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका २४ जिल्लाकोे औद्योगिक र व्यापारिक केन्द्र नेपालगन्ज संघीयतापछि बेवास्ताको शिकार भएको छ

चिरञ्जीवी ओली
लामो समय नेपालगन्ज साबिकको मध्य र सुदूरपश्चिमाञ्चल विकास क्षेत्र (हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश)को प्रमुख व्यापारिक केन्द्र थियो । भारत र चीनमा आयात निर्यातको व्यवसायिक ट्रान्जिट क्षेत्र पनि बाँके बनेको थियो । नेपालगन्ज औद्योगिक केन्द्र पञ्चायतकालमा स्थापना भयो । त्यत्तिबेला नेपालगन्जमा चामल, कथ्था मिल, सलाइ फेक्ट्री सञ्चालनमा थिए । यहाँको उद्योगको उत्पादन साबिक भेरी, कर्णाली, राप्ती, सेती र महाकाली अञ्चलका जिल्लाको आवश्यकता पूर्ति भएर पनि भारत र तेस्रो मुलुकसम्म पैठारी हुन्थ्यो । राजा महेन्द्रले विकास क्षेत्र विभाजन गर्दा साबिकको मध्यपश्चिमाञ्चलको क्षेत्रीय कार्यालय सुर्खेत भयो तर नेपालगन्ज प्रशासनीक केन्द्रका रुपमा थियो । सरकारी, गैरसरकारी, अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्था र संयुक्त राष्ट्र संघ नियोगका क्षेत्रीय र अञ्चल कार्यालय नेपालगन्जमै थिए । संघीयतापछि केही कार्यालय सुर्खेत र केही बुटवल सारिए । संघीयताले बाँके प्रशासनीक रुपमा विभाजितमा भयो ।

लेखक चिरञ्जीवी ओली

औद्योगिक राजधानीको ललीपप
१६ असोज २०७७ मा प्रदेश सरकारले मन्त्रीपरिषद् बैठकबाट प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको टुंगो लगाएपछि अस्थायी राजधानी बुटवल निराश बनेको थियो । २० असोजमा प्रदेशसभाले लुम्बिनी र राजधानी दाङ दुई तिहाइ बहुमतका साथ पारित ग¥यो । यो निर्णय बुटवलका लागि असह्य हुनु स्वभावितक थियो । प्रदेशसभामा राजधानी र प्रदेशको नामाकरणमा मतदान हुनुभन्दा अघि विशेष सम्बोधन गर्दै मुख्यमन्त्री शंकर पोखरेलले बुटवललाई फकाउन ‘साबिक लुम्बिनी अञ्चललाई वित्तीय र पर्यटकीय राजधानी’ बनाउने उद्घोषक गरिदिए । दाङ राजधानी ल्याउन बाँके र बर्दियाको दह्रो समर्थन थियो । बाँके बर्दियाले दाङ राजधानी नभए कर्णाली प्रदेशमा गाभिने चेतावनी पनि दिएको थियो । यही भावनामा मुख्यमन्त्री खेल्थे र हरेक पटक नेपालगन्ज आउँदा आर्थिक र औद्योगिक राजधानी बाँके नै हुने भनेर उनी कहिल्यै थाक्दैनथे । दाङको टुंगो लागेपछि प्रदेशसभामा पोखरेलले बाँके र बर्दियाका लागि भने नयाँ तुरुप फाले ‘हरित क्रान्ति’को नेतृवकर्ता जिल्ला बाँके हुने भनेर । उनले भनेका थिए, ‘राप्ती नदी अन्र्तगतको सिक्टा सिँचाइ परियोजनाले बाँके जिल्लाको आर्थिक, सामाजिक जीवनमा परिवर्तन ल्याउने एउटा सम्भावना उजागर भइरहेको छ । हामी बाँके, बर्दियामा हरित क्रान्तिको परिकल्पना गरिरहेका छौं । अब नेपालमा हरित क्रान्तिको नेतृत्व कहीँबाट हुन्छ भने त्यो बाँके, बर्दिया जिल्लाले गर्नसक्छ । एकातिर भेरी डाइभर्सन आयोजना अगाडि बढ्दैछ । अर्कोतर्फ सिक्टा सिँचाइ आयोजना अगाडि बढ्दैछ । यसका माध्यमबाट त्यो ठाउँ हरित क्रान्तिको केन्द्र बन्नसक्छ ।’

प्रदेश राजधानी र नाम प्रदेशसभाबाट पारित हुँदै गर्दा नेपालगन्ज उद्योग वाणिज्य संघले विज्ञप्ती जारी गरेर औद्योगिक राजधानीको माग गरेको थियो । ‘नेपालगन्जमा पटक पटक केन्द्रीय नेतृत्व आएर बाँकेलाई औद्योगिक राजधानी हो अथवा बनाउने हो भनि विश्वास दिँदै गर्दा साबिक लुम्बिनी अञ्चललाई वित्तीय एवं पर्यटकीय राजधानी बनाउने र बाँकेको नेपालगन्जलाई औद्योगिक राजधानी बनाउन किन नहुने ?’, संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र म संघको तत्कालीन महासचिव चिरञ्जीवी ओलीले संयुक्त हस्ताक्षर गरेर विज्ञप्ती जारी गरेको पनि हिजोआज जस्तै लाग्छ । दलका नेता र प्रदेश सरकारका जिम्मेवार ब्यक्तिले नेपालगन्जलाई आर्थिक राजधानीको ललिपप मात्र देखाएका रहेछन् । हामी नमज्जाले झुक्किएका रहेछौं ।

औद्योगिक राजधानी किन ?
लुम्बिनी प्रदेशमा औद्योगिक विकासमा बाँके अग्रणी मानिन्छ । यहाँका २ वटा निर्माणाधीन र एउटा औद्योगिक क्षेत्र त सञ्चालनमै छ । २०३० सालदेखि १७ विगाहा क्षेत्रफलमा नेपालगन्ज औद्योगिक क्षेत्र सञ्चालन भइरहेको छ । जहाँ तामा, पित्तल, काँस, प्लाष्टिक, प्लाइउडहरु उत्पादन हुन्छन् । जसको बजार देशैभरी छ । औद्योगिक क्षेत्रभन्दा बाहिर पनि देशव्यापी रुपमा उत्पादन बिक्री गर्ने ठूला उद्योग पनि यहाँ सञ्चालनमा छन् । २०७२ को चैतमा सरकारले नौबस्ता औद्योगिक क्षेत्र घोषणा गरेर संघीय सरकारका तत्कालिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले शिलन्यास गरेका थिए । बैजनाथ गाउँपालिका–३ नौबस्तामा निर्माणाधीन औद्योगिक क्षेत्रमा ३३८ बिघा क्षेत्रफल छ । जहाँ १११ वटा उद्योग सञ्चालन हुने डीपीआर तयार भइसकेको छ । खजुरा गाउँपालिकामा पनि औद्योगिक ग्राम निर्माण गर्ने तयारी भइरहेको छ ।
बाँकेका औद्योगिक क्षेत्रभन्दा बाहिर पनि बाँकेमा ठूल्ठूला उद्योग खुलेका छन् । अम्बे समूहले छड उत्पादन सुरु गरेको छ । देशै भरी उत्पादन बिक्री हुने सिमेन्ट, आइरन, रोजिन, कत्था, जडिबुटी प्रशोधन, प्लाष्टिक, प्लाइउड, खाद्य वस्तु उत्पादन गर्ने उद्योगहरु औद्योगिक क्षेत्रभन्दा बाहिर सन्चालन भइरहेका छन् । तामा पित्तल, काँस, आल्मुनियमका विभिन्न भाडाहरु, खाद्य सामाग्री, बिद्युतीय सामाग्री, प्लाइड, ढोका, ट्रान्सफरमर, प्लाष्टिकका भाँडाकुँडा उत्पादन गर्ने उद्योग पनि सञ्चालित छन् ।

निष्कर्ष
संघीयतामा राजनीतिक र प्रशासनीक केन्द्रका रुपमा पछाडि पारिए पनि बाँके औद्योगिक विकासमा भने अझै अगाडि नै छ । औद्योगिक राजधानी घोषणा गरे वा नगरे पनि बाँके हिजो पनि व्यापारिक र औद्योगिक केन्द्रका रुपमा थियो । आज पनि छ । भोलि पनि हुनेछ । स्वास्थ्य, शिक्षा, औद्योगिक, व्यापारिक र आर्थिक हब हिजो थियो । अझै पनि त्यो बिरासत बाँकी नै छ । संघीयतापछि मात्र राज्यको बेवास्ताको शिकार भयो । संघीयताअघि सरकारी कार्यालय र गैरसरकारी कार्यालय अञ्चल र क्षेत्रीय कार्यालय नेपालगन्जमा थिए । संघीयतापछि कोही सुर्खेत त कोही बुटवल सारिए । उद्योग, कलकारखाना घटेनन् । ठूल्ठूला उद्योग थपिँदै गए । त्यसैले पनि नेपालगन्जलाई औद्योगिक राजधानीका रुपमा विकास गरेर संघीयताले परेको मारमा मल्हम लगाउनुपर्छ ।’  (लेखक ओली नेपालगन्ज उद्योग वाणिज्य संघको बरिष्ठ उपाध्यक्ष हुनुहुन्छ ।)
स्रोत : अर्थ समृद्धि नेपालगन्ज उद्योग वाणिज्य संघ प्रादेशिक महोत्सव २०८१ विशेष स्मारिका