शान्तिको कामना गर्दै नमाज (फोटो फिचर)

नेपालगन्ज : नेपालमा शान्तिको कामना गर्दै नेपालगन्जका इस्लाम धर्मावलम्बीहरूले सामूहिक नमाज पढेका छन् ।
‘ईद–उल–फित्र’ अर्थात ईद पर्वको अवसरमा सोमबार बिहान नेपालगन्जको वीपी चोकस्थित इदगाहमा सामूहिक नमाज पढेका हुन् ।

सामूहिक नमाज पढिसकेपछि केहीबेर नेपालमा शान्तिको कामना गर्दैै प्राथना पनि गरिएको थियो । हिजरी पात्रोअनुसार रमजानको अन्त्यमा मनाइने यो पर्वमा प्रार्थना गर्नुको साथै एकआपसमा भेटघाट गरि अंगालो हालेर ईदको शुभकामना साटासाट गरिन्छ ।

इदको शुभकामना आदान प्रदान गर्न लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवाल, संघीय सरकारका पूर्वमन्त्री इस्तियाक राई, पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य कृृष्णा केसी नमुना, प्रदेशसभा सदस्य मीना श्रेष्ठ, बाँकेका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय प्रमुख लगायत इदगाह पुगेका थिए ।

वीपी चोकस्थित इदगाह अगाडि नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेलगायत सामाजिक संघसंस्था र समाजसेवी व्यक्तिहरुले सर्बत, पानी र हलुवा खुवाएका थिए । सामाजिक तथा धार्मिक सद्भावको सहर नेपालगन्जमा हरेक इदमा हिन्दु धर्मावलम्बीहरुले हातेमालो गरेका हुन्छन् ।