हर्षकृति बौद्ध बिहारबारे अध्ययन गरी नगर प्रमुख र प्रजिअलाई प्रतिवेदन बुझाइयो
नेपालगन्ज : नेपालगन्जको हर्षकृति बौद्ध बिहारबारे अध्ययन समितिले प्रतिवेदन बुझाइएको छ ।
बागेश्वरी मन्दिर परिसरमा उत्तर दिशामा रहेको बिहारको संरक्षण र व्यवस्थापनका सम्बन्धमा अध्ययन गर्न उच्च अदालत वार एशोसियसका अध्यक्ष अधिवक्ता चित्रबहादुर शाही संयोजक, अधिवक्ता वसन्त गौतम, अधिवक्ता हिराबहादुर श्रेष्ठ, कृष्णप्रसाद श्रेष्ठ, प्रभातकुमार ठकुरी, उषा गौतम र केवल वैश्य सदस्य रहेको ७ सदस्यीय अध्ययन समिति गठन गरिएको थियो । समितिले बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी र नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टलाई सोमबार अध्ययन प्रतिवेदन बुझाएको अधिवक्ता वसन्त गौतमले जानकारी दिए ।
समितिले बिहार दर्ता नभएको, व्यवस्थापन समिति गठन नभएको, बागेश्वरी मन्दिर परिसरमा रहेको बिहारको जग्गा मन्दिरकको नाममा स्रेस्ता कायम भएको, विहारको नाममा जानकी गाउँपालिका ४ खजुराखुर्दमा साढे १५ बिघा जग्गा रहेको समितिको प्रतिवेदनमा उल्लेख छ ।
अध्ययन समितिले विहारको भेटीको कुनै पनि लेखाजोखा नभएको, विहारको अगाडि रहेका ११ वटा सटरहरुको भाडाको कुनै हिसाबकिताव नभएको, बिहारको प्राङ्गणभित्र फोहर फाल्ने तर नियमित सरसफाइ राम्ररी नगरिएको देखिएको, बौद्ध बिहारभित्र अनाधिकृत व्यक्तिको प्रवेश हुने गरेको, अवान्छित क्रियाकलापका कारण दर्शनार्थी र बिहारमा बस्ने भिक्षुहरुले असुरक्षित महसुस गरेको पाइएको जनाएको छ । शक्तिपीठको बागेश्वरी परिसरमा रहेको हर्षकृति बौद्ध बिहारलाई सौन्दर्यकरण गरि ब्यवस्थित रुपमा सञ्चालन गर्न सकेको आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने प्रतिवेदनमा उल्लेख छ । नगर प्रमुख विष्ट र प्रजिअ जोशीले प्रतिवेदन अध्ययन गरी कार्यान्वयनमा पहल गर्ने प्रतिबद्धता जनाएको अधिवक्ता गौतमले जानकारी दिए ।








