नेपालगन्ज-दिल्ली उडान सम्भव छ !
शंकरप्रसाद खनाल । नेपालगन्ज
नेपालगन्ज क्षेत्रीय विमानस्थल होेइन । न त यो अन्तर्राष्ट्रिय विमानस्थल नै हो । यहाँबाट नेपाल एयरलाइन्स, बुद्ध, यति, श्री, समिट, तारा र सीता एयरले काठमाडौं, पोखराका साथै कर्णाली र सुदूरपश्चिमका पहाडी जिल्लामा हवाइ सेवा छ । नेपालगन्जबासीले नेपालगन्ज–दिल्ली उडानको माग वर्षौदेखि गर्दै आएका छन् । क्षेत्रीय विमानस्थलको समेत मान्यता नपाएको राँझा विमानस्थलबाट के भारतको नयाँ दिल्लीसँग सिधा हवाइ सेवा सम्भव होला त ?
नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्ज–दिल्ली उडानबारे शुक्रबार नेपालगन्जमा आयोजना गरेको छलफल कार्यक्रममा नागरिक उड्डयन कार्यालय नेपालगन्जका निमित्त प्रमुख बालकुमार सिंहले नेपालगन्ज विमानस्थलबाट दैनिक ६ वटासम्म अन्तर्राष्ट्रिय उडान भर्न सक्ने क्षमता भएको दाबी गरे । उनले अन्तर्राष्ट्रिय विमान सेवा सुरु गर्नु अघि नेपालगन्ज विमानस्थलमा भन्सार, अध्यागमन, क्वारेन्टाइन जस्ता कार्यालय स्थापना गर्नुपर्ने सुझाव दिए । सिंहले भने, ‘अहिले नेपालगन्ज विमानस्थलमा १५० जना क्षमताको टर्मिनल भवन छ । निर्माण अन्तिम चरणमा पुगेको नयाँ टर्मिनल भवनकोे क्षमता ६०० रहेकाले हामी अन्तर्राष्ट्रिय विमान उडानका लागि तयारी अवस्थामा छौं । त्यसका लागि रनवे पनि पर्याप्त छ । विस्तार गर्नु पर्दैन ।’
कार्यक्रममा बाँकेका स्थानीय तहका जननिर्वाचित जनप्रतिनिधिले पनि नेपालगन्ज–दिल्ली उडानका लागि संघीय सरकारलाई दवाब दिन हातेमालो गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य कृष्णा केसी नमुना र विशिष्ट अतिथि नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले नेपालगन्ज–दिल्ली उडानका लागि नेपालगन्जबासीसँगै दवाब समूहसँग मिलेर काम गर्ने बताएका थिए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले पनि नेपालगन्ज–दिल्ली उडानको मागका सम्बन्धमा आफूले गर्नुपर्ने सहयोेग गर्ने प्रतिबद्धता जनाएका थिए ।
नेपालगन्ज–पोखरा चार्टड विमानबाट हवाइ सेवाको शुभारम्भ गरेको अनुभव संगालेका नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देल नेपालगन्ज–दिल्ली उडान गर्न निजी विमान सेवा तयार रहे पनि सरकारीले जीटुजी पहल नगरेको गुनासो गर्छन् । ‘बुद्ध र श्री एयरले नेपालगन्ज–दिल्ली उडान गर्नेबारे अध्ययन प्रतिवेदन सरकारलाई हस्तान्तरण गरे पनि परराष्ट्र मन्त्रालयले प्रतिवेदन थन्काएको आरोप लगाउँछन् ।
होटल एशोसियशन नेपाल (हान)बाँकेका अध्यक्ष दिवाकर खनाल र होटल व्यवसायी संघ बाँकेका अध्यक्ष रंगबहादुर खड्का बाँकेका पर्यटन व्यवसायीका लागि नेपालगन्ज–दिल्ली उडान कोसेढुंगे साबित हुने बताउँछन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्षद्वय कृष्णप्रसाद श्रेष्ठ, नन्दलाल वैैश्य र पूर्वमहासचिव अजयकुमार टण्डन सरकारको इच्छाशक्तिको अभावमा नेपालगन्ज–दिल्ली उडान हुन नसकेको जिकिर गरे । संघले नेतृत्वदायी भूमिका निर्वाह गर्दै नेपालगन्ज–दिल्ली उडानका लागि दवाब दिन नछोडेको बताए ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी र पत्रकार आशिष गुप्ताले नेपालगन्ज–दिल्ली उडानको मुद्दामा बाँकेबासी एक भएर सरकारलाई दवाब जारी राख्ने सुझाव दिन्छन् ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य पशुपति दयाल मिश्र, कांग्रेस बाँकेका सचिव सुधांशु कोइराला, नेकपा एकीकृत समाजवादी बाँकेका उपाध्यक्ष करिश्मा योगी, एमाले बाँकेका सदस्य मीनबहादुर मल्ल, राष्ट्रिय स्वतन्त्र पार्टीका राजेन्द्र श्रेष्ठ नेपालगन्ज–दिल्ली उडानका लागि दवाब दिन ऐक्यबद्धता जनाएका थिए ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले नेपालगन्ज–दिल्ली उडान नहुँदासम्म दवाब जारी राख्ने बताए । शुक्रबार मात्र दवाब समूूहका संयोजक बनेका धामीले भने, ‘नेपालगन्ज लुम्बिनी प्रदेशको प्रमुख सहर मात्र होइन, पर्यटकीय हिसाबले कर्णाली र सुदूरपश्चिम प्रदेशको गेटवे भएकाले नेपालगन्ज–दिल्ली उडान आवश्यक छ ।’ चीनको तिब्बतमा रहेको कैलाश मानसरोवर जाने भारतीय तीर्थयात्री नेपालगन्ज हुँदै जाने भएकाले पनि नेपालगन्ज–दिल्ली उडान महत्वपूर्ण हुने उनको दाबी थियो ।