बाँकेका पत्रकारलाई नैतिकताबारे तालिम !

नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँकेले डिजिटल मिडिया र पत्रकारितामा नैतिकताबारे नेपालगन्जमा तालिम दिन सुरु गरेको छ ।
महासंघले नेपालगन्ज उपमहानगरपालिकाको आर्र्थिक सहयोगमा सञ्चालन गरेको डिजिटल मिडिया, मर्यादित पत्रकारिता र पत्रकार आचारसंहिता विषयक अभिमुखीकरण तालिमको सोमबार नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले शुभारम्भ गरेका हुन् । नगर प्रमुख विष्टले डिजिटल युगमा डिजिटल मिडियाको महत्व बढेको बताए ।

नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष नवीन गिरीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, नेपालगञ्जका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, नेपाल पत्रकार महासंघ बाँकेका पूर्वअध्यक्षहरु निरज गौतम र झलक गैरे, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष कमल डाँगी, समाजवादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्माले शुभकामना दिएका थिए । चार दिनसम्म सञ्चालन हुने तालिममा ८० जना पत्रकारको सहभागिता रहनेछ । तालिममा नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल र पत्रकार केपी ढुंगानाले सहजीकरण गरिरहेका छन् ।