बर्दियाका पत्रकारलाई स्टोेरी लेखन कार्यशाला
राजापुर : बर्दिया जिल्लाका पत्रकारहरुलाई स्टोरी लेखन सम्बन्धी कार्यशाला गरिएको छ । राजापुर नगरपालिका वडा नं. ८ ले जिल्लाका पत्रकारहरुलाई प्राकृतिक स्रोत र सम्पदाका विषयमा कार्यशाला आयोजना गरेको हो ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले शुक्रबार राजापुरको धोबिनपुरमा कार्यशालाको उद्घाटन गरेका हुन् । अध्यक्ष चौलागाईले विगतदेखि नै बर्दियाको राजापुर क्षेत्र समाचारका लागि उत्कृष्ट क्षेत्र भएको बताउँदै पत्रकारलाई यस क्षेत्रका विकास निर्माणका समाचार लेख्न आग्रह गरे ।
कार्यक्रममा बरिष्ठ पत्रकार गोपी बुढाले आफूले गरेको पत्रकारिताको अनुभव सुनाउँदै पत्रकारिताको ज्ञान, सीप र अनुभवका आधारमा स्टोरी लेख्न पत्रकारलाई सुझाव दिएका थिए ।
कार्यक्रमको अध्यक्षता गरेका वडाध्यक्ष राजेश थारुले आफूले जनताको माग, चाहाना र विज्ञको सुझावका आधारमा वडामा विकास बजेट विनियोजन गर्ने गरेको जानकारी दिए । नगरका अरु वडाभन्दा नमुना अभ्यासको थालनी गरेकाले यस्ता विषयमा पत्रकारलाई कलम चलाउन आग्रह गरे । राम्रा समाचार लेख्न पत्रकारहरुलाई प्रोत्साहन पनि गरिरहेको बताए ।
कार्यपालिका सदस्य कृष्णा ढुंगानाले स्वागत मन्तव्य दिएको कार्यक्रममा कार्यालय सचिव सिर्जना अधिकारीले कार्यशालाको उद्देश्यबारे प्रकाश पारेकी थिइन् ।
अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका उपसम्पादक तथा मेरोखुसी डटकमका सम्पादक शंकरप्रसाद खनालले सहजीकरण गरेको कार्यशालामा जिल्लाका विभिन्न मिडियामा कार्यरत एक दर्जन भन्दा बढी पत्रकारहरुको सहभागिता रहेको थियो ।