१०४ पटक रक्तदान गर्ने पत्रकार जायसवाललाई २ सम्मान
नेपालगन्ज : बाँकेमा १०४ पटक रक्तदान गर्ने पत्रकार पवन जायसवाललाई शनिबार नेपालगन्जमा एकैदिन दुई वटा सम्मान गरिएको छ ।
विश्व रक्तदाता दिवसको अवसर पारेर नेपालगन्जको रेडियो कृष्णसार एफएममा कार्यरत पत्रकार जायसवाललाई प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेले र ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्र बाँकेले छुट्टाछुट्टै कार्यक्रममा सम्मान गरेका हुन् ।
४ असोज २०४६ मा नेपालगन्ज जेसिसले आयोजना गरेको रक्तदान कार्यक्रमपछि जायसवालले रक्तदान दिन थालेका हुन् । उनकी पत्नीलाई रक्तदान गरेको मन पर्दैन । ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रको ३२औं साधारणसभामा प्रमुख अतिथि वरिष्ठ नागरिक अगुवा कृष्णराज पन्त र संस्थाका अध्यक्ष लता शर्माले पत्रकार जायसवाल र उनकी पत्नी किरणदेवी जायसवाललाई सम्मान गरेको हो । पतिले गरेको कर्मका आधारमा सम्मान पाउँदा उनी खुसी थिइन् ।
शनिबार नेपालगन्जमा प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेले आयोजना गरेको रक्तदान कार्यक्रममा ९० पुरुष र १२ महिला गरी १०२ जनाले रक्तदान गरेको संघका नेपालगन्ज नगर समिति अध्यक्ष शिव दाहालले जानकारी दिए ।
संस्थागत रुपमा हालसम्म एक हजार पाँच सय भन्दा बढी प्रिन्ट रगतदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै संघले नेपालगन्ज ब्लड डोनेसन ग्रुपलाई र पतञ्जली योग समितिलाई सम्मान गरेको थियो । रक्तदान कार्यमा संस्थागत रुपमा सहयोग गर्ने डेढ दर्जन संघसंस्थालाई पनि कदर पत्र प्रदान गरिएको संघका जिल्ला अध्यक्ष सञ्जय थापाले बताए ।
विश्व रक्तदाता दिवसको अवसरमा स्वयंसेवी रक्तदाता समाज बाँकेले शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको थियो । समाजका अध्यक्ष दिला शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाँकेका शतक रक्तदाता तथा समाजका सल्लाहकार पवन जायसवाल र अर्का सल्लाहकार पूर्णलाल चुकेले शुभकामना दिएका थिए । समाजले एक साताभित्रै रक्तदान सम्बन्धी अभिमुखीकरण कार्यक्रम पनि आयोजना गर्ने जनाएको छ ।