बाँकेका ४२ प्रतिशत पत्रकारलाई दूरदृष्टि समस्या
नेपालगन्ज : बाँकेमा आँखा परीक्षण गराएकामध्ये ४२ प्रतिशत पत्रकारलाई दूरदृष्टिको समस्या पाइएको छ ।
गौरव स्मृति तथा बि.योर सेल्फ फाउन्डेसन नेपालगन्जले नेपाल पत्रकार महासंघ बाँकेसँग समन्वयमा आइतबार नेपालगन्जमा जिल्लाका १९४ जना पत्रकारको आँखा परीक्षण गर्दा ९१ जनामा दृष्टि समस्या देखिएको नेत्र विशेषज्ञ डा. नविनकुमार कनोजियाले जानकारी दिए । कूल परीक्षण गराएकामध्ये दृष्टि समस्या देखिने पत्रकार ४६.९० प्रतिशत थियो । दृष्टि समस्या भएका पत्रकारमध्ये ९० प्रतिशत अर्थात ८२ जना पत्रकारमा टाढाको नदेख्ने समस्या रहेको डा.कनोजियाले प्रष्ट पारे । जुन कूल परीक्षण गराएका पत्रकारमध्ये दूरदृष्टिको समस्या हुने ४२.२६ प्रतिशत हो ।
उनले भने, ‘दुई घण्टाभन्दा बढी समयसम्म कम्प्युटर, ल्यापटप वा मोबाइल चलाउने पत्रकारलाई यस्तो समस्या देखिएको हो । यस्ता ब्यक्तिको दृष्टि नै गुम्ने खतरा पनि हुन्छ । ४० वर्षभन्दा बढी उमेर समूहका ९ जना पत्रकारलाई नजिककोे नदेख्ने समस्या थियो । उमेर बढ्दै जाँदा नजिकको कम कम देखिँदै जान्छ ।’ दूरदृष्टि भएका कतिपय पत्रकारले त परीक्षणका लागि राखिएका कुनै पनि संकेत पहिचान गर्न सकेका थिएनन्् । ४० प्रतिशत पत्रकारको आँखामा सुख्खापनको समस्या, ५ जना पत्रकारलाई मोतिविन्दु र ६ जनामा रंग छुट्टाउन नसक्ने समस्या र ८ जनाको आँखा रातो भएको, चिलाउने गरेको जस्ता भाइरलको समस्या पाइएको थियो । नेपालगन्ज ४ स्थित फाउण्डेशनको कार्यालयमा गरिएको आँखा परीक्षण कार्यक्रममा फाउण्डेसनले ९१ जना पत्रकारलाई निःशुल्क चस्मा उपलब्ध गराएको थियो । सुख्खापनको समस्या हुनेलाई औषधि पनि उपलब्ध गराइएको थियो । दृष्टि विशेषज्ञद्वय तिलक शाह र नवीन कनोजिया नेतृत्वको टिमले आँखा चेकजाँच गरेको थियो ।
चौथो गौरव स्मृति दिवसको अवसरमा आयोजित आँखा जाँच कार्यक्रम संस्थाका अध्यक्ष मधु शाहको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
नेपालगन्जका गौरव शाह र उनको टिमले बि.योर सेल्फ फाउन्डेसनमार्फत सामाजिक र मानवीय काम गर्थे । शाहको चार वर्ष अघि निधन भएपछि बुबा प्रदीप शाहले उनको नाममा गौरव स्मृति तथा बि.योर सेल्फ फाउन्डेसन स्थापना गरेर हरेक वर्ष सेवाको काम जारी राखेका छन् । चौथो गौरव स्मृति दिवसको अवसरमा बाँकेका पत्रकारको निःशुल्क आँखा जाँच, निःशुल्क चस्मा र औषधि वितरण गरिएको थियो । उनले भने, ‘छोरा गौरवको समूहले दीनदुःखीको सेवा गथ्र्यो । उसैको सम्झनामा फाउण्डेसनमार्फत हरेक वर्ष सेवाको काम गरिरहेका छौं ।’
कार्यक्रममा कार्यक्रममा नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी, समाजसेवी हरिष गुप्ता, बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्माले स्व.गौरवले सानै उमेरमा सेवाको क्षेत्रमा गरेको योगदानबारे चर्चा गरेका थिए ।
सोही अवसरमा गौरव स्मृति तथा बि. योर सेल्फ फाउण्डेशनले फिलिपिन्सको राजधानी मनिलामा सम्पन्न भएको लिटल एण्ड टिन ग्ल्याम पेजेन्ट इन्टरनेशनल २०२५मा प्रथम पुरस्कार विजेता नेपालगन्जकी मोनिका कठायतलाई सम्मान गरेको थियो ।