चौथो फोटो फेस्टिवल नेपालगन्जको तयारी पुरा

नेपालगन्ज : नेपालगन्ज फोटो फेस्टिवलको चौथो संस्करणको तयारी पुरा भएको छ ।
असार ४ र ५ गते नेपालगन्जमा आयोजना गरिएको फेस्टिवलमा राष्ट्रिय फोटो प्रतिस्पर्धामा देशभरबाट सहभागी फोटोबाट छानिएका १११ फोटो प्रर्दशनीमा राखिएको अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिए । ‘बाँके, बर्दिया सहित देशभरका सांस्कृतिक, पर्यटन, कृषि लगायतका ९ विधामा विविधता झल्कने फोटो एउटै थलोमा हेर्ने अवसर छ’ फोटो प्रर्दशनीको अवलोकन गर्न आह्वान गर्दै शाह भन्छन् ‘निशुल्क रुपमा फोटो हेर्ने व्यवस्था मिलाएका छौ ।’ ४ गते बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म र ५ गते बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म फोटो अवलोकन गर्न सकिनेछ ।
अन्तरालको आयोजनामा हुने उक्त फोटो फेस्टिवलमा फोटो प्रर्दशनीसँँगै २ दिने फोटोग्राफी तालिम पनि सन्चालन हुनेछ । प्रतिष्पर्धामा छानिएका १११ फोटोहरुलाई प्रमाणपत्र प्रदान गरिनुका साथै नेपालगन्ज, संघीय राजधानी काठमाडौं र सातै प्रदेशमा हुने फोटो प्रदर्शनीमा समावेश गरिनेछ । यी फोटोहरु अन्तरालले प्रकाशन गर्ने फोटो पुस्तकमा समेत समेटिने आयोजकले जनाएको छ ।
बरिष्ठ फोटो पत्रकार विकास कार्कीको नेतृत्वमा बरिष्ठ फोटोग्राफर रमेश मल्ल र फोटो पत्रकार केशव थोकर सदस्य रहेको निर्णायक मण्डलले उक्त फोटोहरु छनौट गरेको हो । नेपालगन्ज फोटो फेस्टिवल अन्तर्गत राष्ट्रिय फोटो प्रतिस्पर्धाको सबैभन्दा ठूलो र मुख्य पुरस्कार वर्ष फोटो रहेको छ । यसको पुरस्कार राशी ५१ हजार १११ रुपैयाँ र प्रमाणपत्र रहेको छ । यस्तै टप ३१ मा परेका फोटोमा सर्वाधिक भोट प्राप्त गर्ने फोटोग्राफरले पिपुल्स च्वाइस अवार्ड प्राप्त गर्ने छन् भने यसको पुरस्कार राशी ५० हजार १११ रुपैयाँ र प्रमाणपत्र रहेको छ । असार ५ गते दिउँसो १ बजेसम्म उक्त फोटोहरुमा इसेवामा गएर भोट गर्न सकिनेछ ।
यस वर्ष पनि हरेक विधाका उत्कृष्ट फोटोलाई नगद पुरस्कारसहित विधागत उत्कृष्ट फोटो अवार्ड प्रदान गरिनेछ । दैनिक जीवन, समाचार, पर्यटन, कृषि, संस्कृति, वन्यजन्तु, प्रकृति र संरक्षण, खेलकुद, नेपाल स्माइल गरि प्रतियोगितामा ९ विधा प्रतिष्पर्धामा समावेश छन् । हरेक विधाको उत्कृष्टलाई ५ हजार नगद र प्रमाणपत्र प्रदान गरिनेछ । यसैगरी यस वर्ष फोटो पत्रकार र फोटोग्राफरहरुका फोटोग्राफी अनुभव आदानप्रदान गर्ने उद्देश्यले नेपाल फोटोग्राफी समिट पनि आयोजना हुने भएको छ ।