नेपालगन्ज-१० को वार्षिक योजना तर्जुमा सम्पन्न
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं १० को वार्षिक योजना तर्जुमा एवं वडा भेला बुधबार सम्पन्न भएको छ ।
आगामी आर्थिक वर्ष ०८२/०८३ को लागि प्रस्तावित योजना, कार्यक्रम संकलनका लागि गरिएको भेलामा आर्थिक वर्षको सार्वजनिक सनुवाई एवं वार्षिक प्रगति समीक्षा पनि गरिएको थियो ।
भेलामा जनप्रतिनिधि, वडाका कर्मचारी, राजनीतिकर्मी, टोल विकास संस्थाका अध्यक्ष, नागरिक समाजको अग्रज, जेष्ठ नागरिक, बालबालिका, समाजसेवी लगायतको सहभागिता रहेको थियो ।
वडा सचिव शान्ता घर्तीकाअनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नं १० मा एक करोड ५ लाख ५० हजारको बजेट सिलिङ नेपालगन्ज उपमहानगरपालिकाबाट प्राप्त भएको छ । चालु आर्थिक वर्ष २०८१र०८२ मा सम्पन्न भएका समग्र योजना र आगामी कार्यक्रम तथा योजनाबारे पनि प्रकाश पारिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी एवं राप्रपा बाँके अध्यक्ष नरेन्द्रराज पौडेलले स्थानीय विकासको सवालमा राजनीतिक दलहरु एक हुनु पर्नेमा जोड दिदै सामूहिक हातेमालोे नै समग्र विकास र समृद्धिको आधार भएको बताए । वडावासीले जनप्रतिनिधिमाथि गुनासो मात्र नभइ रचनात्मक सुझाव र साथ दिन पनि उनले आग्रह गरे ।
नेपालगन्ज १० का वडा अध्यक्ष श्रवणकुमार श्रेष्ठले स्थानीयको माग र आवश्यक्ता अनुसार नै आगामी कार्यक्रम र योजना सम्पन्न गरिने बताए । वडा सदस्य विना थापामगरले स्वागत मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रममा वडा सदस्य दिपेन्द्र श्रेष्ठले सहभागीका तर्फबाट उठाइएका जिज्ञासाको जवाफ दिँदै समग्र विकासबारे जानकारी दिए । यस्तै वडा न १० का वडा सदस्य भरत शाहीले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । शहरी स्वास्थ्य केन्द्रका स्वास्थ्य अधिकृत भागीराम चौधरीले स्वास्थ्य सेवा र प्रगतीबारे वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सहभागीहरुले आर्थिक वर्ष २०८२।०८३ को लागि आफ्नो योजना लिखित तथा मौखिक रुपमा प्रस्तुत गरेका थिए । वडा भेलामा सडक निर्माण, ग्रावेल, नाला निर्माण, सरसफाई, बत्ति व्यवस्थापन आदि विषयलाई प्राथमिकतामा राख्न माग गरिएको छ ।