जनता मावि खजुरामा योग समितिको ४७औं योग केन्द्र

खजुरा : बाँकेको खजुरा गाउँपालिकाको जनता माध्यमिक विद्यालयमा योग केन्द्र खुलेको छ ।
खजुरा गाउँपालिका–३ सन्तकुटीमा रहेको जनता माविमा योग समिति नेपालका योग केन्द्र ब्यवस्थापन समितिका प्रमुख संयोजक योग प्रशिक्षक नहकुल थापाको पहलमा ४७औं योग केन्द्र खुलेको हो । भेरी अस्पताल नेपालगन्जमा कार्यरत स्वास्थ्यकर्मी थापा जनता माविका पूर्वविद्यार्थी हुन् । प्रमुख संयोजक थापाले आफूले अध्ययन गरेको विद्यालयमार्फत योगका माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउन योग केन्द्र स्थापना गरेको बताए ।

जनता माविमा योग केन्द्र व्यवस्थापन समितिको प्रमुख संयोजकमा थापा र संयोजक तेजकुमारी बिष्ट रहेका छन् । त्यसैगरी विष्णु पौडेल, खुमानन्द आचार्य, सुजाता खरेल, पुष्पा चन्द, कमला शर्मा, कल्पना खड्का, रिता डाँगी, टीका गिरि, कमला चन्द, दिपिका अधिकारी, शिशिर अधिकारी, पुनम बराल र बन्दना पौडेल सदस्य रहेका छन् । केयरसिंह थापा, महेन्द्र खत्री, भानुभक्त रिजाल, टंक पोखरेल र भक्तबहादुर केसी केन्द्रको सल्लाहकार हुन् ।

खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले गत १९ असारमा जनता मावि योग केन्द्रको उद्घाटन गरेकी थिइन् ।

उपाध्यक्ष मल्लले गाउँपालिकाका नागरिकलाई स्वस्थ बनाउने अभियानमा योग समिति नेपालसँग सधैँ हातेमालो गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।

योग गुरु आयुर्वेदाचार्य गिरिराज भट्टराईले नेपालगन्जमा केन्द्रीय कार्यालय स्थापना गरेर योग समिति नेपाल नामक संस्थामार्फत बाँके र बर्दियामा गरी चार दर्जन बढी योग केन्द्र सञ्चालनमा ल्याएका छन् ।