जब आँखा बन्द गरेरै बालबालिकाले चित्रमा रंग भरे…
नेपालगन्ज : तपाई एकछिन आँखा बन्द गरेर के के काम गर्नसक्नु हुन्छ ? अन्धकारमा पनि चाँदीको घेरा हुन्छ भन्ने नेपाली भनाइलाई शनिबार नेपालगन्जमा बालबालिकाले सिद्ध गर्दै थिए । आँखा बन्द गरेर सिक्ने क्रियाकलाप द आर्ट अफ लिभिङले बाँके र बर्दियाका बालबालिकालाई इन्ट्यूसन प्रोसेस अर्थात प्रज्न योगको प्रशिक्षणमा सिकाउँदै थियो । द आर्ट अफ लिभिङ नेपाल जिल्ला समन्वय समिति बाँकेको आयोजनामा ८ वर्षदेखि १८ वर्ष उमेर समूहलाई नेपालगन्जमा शुक्रबार र शनिबार गरी दुई दिने इन्ट्यूसन प्रोसेस सिकाएको थियो ।
द आर्ट अफ लिभिङका योग प्रशिक्षक ऋषि सापकोटाले योग, ध्यान, आध्यात्मिक ज्ञानका साथै इन्ट्यूसन प्रोसेस सीप सिकाउँदै बालबालिकालाई आँखामा कालो पट्टि (ब्लाइन्ड फोल्ड) लगाएर रंग र अक्षर चिन्न, चित्रमा रंग लगाउन सक्ने विधि सिकाएका थिए ।
त्यही क्रममा उनले सहभागीलाई एउटै पातामा रंगीन चित्र र अर्को उही आकारको चित्रको आकृतिमा रंग भर्न लगाए । बालबालिका सबैले आँखामा ब्लाइन्ड फोल्ड लगाएका थिए । आँखा बन्द भए पनि उनीहरु दुरुस्त रंग भरिरहेका थिए ।
आँखा बन्द गरेर आफ्ना सन्तानले गरेको क्रियाकलाप देखेर अभिभावकहरु दङ्ग थिए । नियमित साधना गर्ने हो भने बालबालिकाको छ्रैठौं इन्द्रियले काम गर्ने प्रशिक्षक सापकोटाले अनुभव सुनाएका थिए । अभ्यासका क्रममा बालबालिकाले रंग चिन्ने, अक्षर चिन्ने र लेखेका वाक्य नै आँखा बन्द गरेरै पढेर सुनाएर चकित पारेका थिए ।
बालबालिकाको छ्रैठौं इन्द्रिय खुल्दा आँखा बन्द हुँदा पनि सबै देख्ने गरेको प्रशिक्षक सापकोटाले प्रष्ट पारे । उनी भन्छन्, ‘छैठौं इन्द्रिय सक्रिय हुँदा बालबालिकाले चमत्कार नै गर्छन् ।’ तालिममा बाँके र बर्दियाका १३ जना बालबालिकाको सहभागी थिए ।
द आर्ट अफ लिभिङ नेपाल जिल्ला समन्वय समिति बाँकेका संंयोजक शंकरप्रसाद खनालले नेपालगन्जमा पहिलो पटक इन्ट्यूसन प्रोसेस (प्रज्न योग) सिकाएको बताए । संयोजक खनाल आगामी दिनमा पनि बालबालिका र युवा लक्षित योगध्यान, ज्ञान, नेतृत्व विकासलगायका कार्यक्रम सञ्चालन गर्र्ने बताउँछन् ।
द आर्ट अफ लिभिङका धेरै कार्यक्रममध्ये बालबालिका र किशोरकिशोरीलाई उनीहरूको क्षमता विकास गर्न डिजाइन गरिएको अन्तज्र्ञान प्रक्रिया हो, इन्ट्युसन प्रोसेस । सामान्यतः मानिसले पञ्च इन्द्रियबाट सिक्छन् । कतिले हेरेर सिक्छन् । कोही सुनेर सिक्छन् । स्वाद लिएर पनि सिकिन्छ । छामेर पनि सिक्न सकिन्छ र कोही सुँघेर पनि सिक्छन् । ज्ञान विज्ञानबाट पनि सिकिन्छ । छैठौं इन्द्रियबाट सिकिन्छ । जुन कुरा प्रज्न योगले सिकाउँछ । यो प्रक्रियाबाट ब्यक्तिको अन्तर चच्क्षु खुलाउने अर्थात तेस्रो आँखा खुलाउने काम हुन्छ ।