मानव बेचविखनविरुद्ध सेवा प्रदायकबीच सहकार्यमा जोड
संजय आचार्य । गुलरिया
गम्भीर सामाजिक अपराधका रुपमा रहेको बाल यौन शोषण र मानव बेचविखन विरुद्ध सेवा प्रदायक सरोकारवालाबीच समन्वय र सहकार्यमा जोड दिइएको छ ।
माइती नेपाल बर्दियाले बुधबार गुलरियामा सेवा प्रदायक निकायबीचको अन्तर्क्रिया कार्यक्रमका वक्ताले यस्तो जोड दिएका हुन् ।
वक्ताहरूले मानव बेचविखन र बाल यौन शोषणका घटनाहरू न्यूनिकरणका लागि सबै निकायबीचको सहकार्य, विद्यालयस्तरदेखि नै सचेतनामूलक शिक्षा, र सीमा क्षेत्रमा निगरानी सशक्त पार्नुपर्नेमा एकमत जाहेर गरेका थिए । सो अवसरमा जिल्लामा बाल यौन शोषण तथा मानव बेचविखनका घटनाहरूको अवस्था, समस्या, रोकथामका उपाय, र संस्थागत समन्वयबारे विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा माइती नेपाल बर्दियाकी संयोजक गायत्री रिमालले संस्थाले पीडितहरूको उद्धार, पुनर्स्थापना र पुनर्संरचनाका लागि पुर्याउँदै आएको योगदानबारे जानकारी गराएकी थिइन् ।
संस्थाले निःशुल्क कानुनी सहायता, मनोवैज्ञानिक परामर्श,र पुनर्मिलन सेवा प्रदान गर्दै आएको उनले बताइन्। बालबालिका र महिलामाथि हुने यौन शोषण तथा बेचविखनका घटना अझै पनि सिमावर्ती क्षेत्रमा चुनौतीका रूपमा रहेको उनको भनाइ थियो ।
त्यसैगरी शान्ति पुनःस्थापना गृहकी संयोजक सपना शर्माले संस्थाले वडास्तरमा अन्य संघसंस्थासँग सहकार्य गर्दै मानव बेचविखनविरुद्ध निरन्तर काम गर्दै आएको बताइन्। कामको क्रममा आउने चुनौतीहरूमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय तहले सहयोग गर्दै आएको भन्दै शर्माले सबै निकायबीचको सहकार्यलाई अझ सुदृढ बनाउन आग्रह गरिन्।
नेपाल पत्रकार महासंघ बर्दिया शाखाका अध्यक्ष निर्मल घिमिरेले सिमावर्ती क्षेत्रमा मानव बेचविखन नियन्त्रणका लागि सञ्चार माध्यमहरूको भूमिकालाई महत्त्वपूर्ण बताउँदै पछिल्लो समय श्रम शोषण र ललाइफकाइ विभिन प्रलोभन देखाएर सीमापार लैजानेजस्ता घटनामा निगरानी बढाउन सुझाव दिए ।
घिमीरेका अनुसार प्रभावकारी अनुगमन र सूचना सञ्जालले यस्ता घटनाहरू रोकथाममा सहयोग पुर्याउन सक्छ।
गुलरिया नगरपालिका उपप्रमुख सावित्रा गौतमले स्थानीय सरकारले चेलीहरू बेचिन नदिन विभिन्न चेतनामूलक कार्यक्रम, सडक नाटक, र विद्यालयस्तरीय सचेतना अभियान सञ्चालन गर्दै आएको जानकारी दिइन्। उनले माइती नेपाल लगायतका संस्थाले गरेको कामको प्रशंसा गर्दै नगरपालिका आगामी दिनमा पनि सरोकारवाला निकायहरूसँग सहकार्यमा जनचेतनाका गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख गीता बाकाबल, जिल्ला प्रहरी कार्यालय बर्दियाका वरिष्ठ नायब निरीक्षक ओमप्रसाद पौडेल, सशस्त्र प्रहरी बल ३१ नम्बर गणका सहायक प्रहरी नायव उपरीक्षक फपेन्द्रकुमार केसी, महिला तथा बालबालिका सेवा केन्द्र प्रमुख सुन्दरी विश्वकर्मा, सञ्चारकर्मी, जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, सुरक्षाकर्मी र सामाजिक अभियन्ताहरूको सहभागिता रहेको थियो।